रवीन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न राप्रपा सांसद लामाको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन गर्न माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा सहभागी भएकै आधारमा राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलगायतलाई अपमानजनक ढंगले प्रहरी हिरासतमा राखिएको उल्लेख गर्दै त्यसलाई घोर भत्र्सनायोग्य बताए।
‘सरकारी सक्रियता जसरी प्रदर्शनलाई हिंसात्मक बनाउने प्रयासमा लाग्यो, त्यो अत्यन्तै निन्दनीय छ,’ उनले भनिन्, ‘प्रदर्शन स्थलमा उपस्थित र सहभागी भएकै आधारमा फरक विचार राख्ने व्यक्तिहरूलाई, विशेष गरी रविन्द्र मिश्रलाई, जुन अपमानजनक ढंगले हिरासतमा राखिएको छ, त्यो घोर भर्त्सनायोग्य छ’
सांसद लामाले तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन गर्न र थुनामा रहेका रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न माग गरिन्।
‘फरक विचार राखेका कारण थुनामा राखिएका सबैलाई तत्काल रिहा गरियोस् र घटनाको सही छानबिन होस्’, उनले जोड दिइन्।
वैशाख २२, २०८२ सोमबार १२:५९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।