ग्लोबल आइएमईको एआई/एमएल ह्याकाथन सम्पन्न

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) विषयमा केन्द्रित ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बैंकका उच्च अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
डिजिटल बैंकिङ सेवामा नवीनतम प्रविधिको प्रयोग प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा काठमाडौं, पोखरा, धरान, बिरगंज, काभ्रे र महेन्द्रनगरका २१ टोली सहभागी थिए।
टिम क्याल्कुलुसले पहिलो स्थान हासिल गर्दै १ लाख रुपैयाँ पुरस्कार जित्यो। डब्लुडिके, लार्के पास, टिम जनकपुर र फ्रडेक्सले क्रमशः दोश्रोदेखि पाँचौं स्थानसम्मका पुरस्कार प्राप्त गरे। वेष्ट प्रिजेन्टेसनको रूपमा डिजीविट्सले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
कार्यक्रममा डेपुटी गभर्नर मिश्रले यस्ता प्रतिस्पर्धाले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने भन्दै बैंकलाई धन्यवाद दिए। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले प्रतिस्पर्धाबाट उत्पन्न विचारलाई सेवा विकासमा प्रयोग गर्ने प्रतिबद्धता जनाए।
बैंकले देशभर १,१०० सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ र विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि सञ्चालनमा ल्याएको छ।
वैशाख २२, २०८२ सोमबार १२:०५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।