लन्डनमा ‘रंगी’

काठमाडौं : गत फागुन २ गते नेपालभर सार्वजनिक प्रदर्शनमा आएको नेपाली फिल्म ‘रंगी’ अब लन्डनमा पनि प्रदर्शन हुने भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको उक्त फिल्म आगामी मे ९ (बिहीबार) देखि लन्डनका २७ हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो।
लन्डन प्रदर्शनको जिम्मा महारानी प्रोडक्सनका विक्रम जोशीले लिएका छन्। जोशीका अनुसार फिल्मले लन्डनमा प्रदर्शनका लागि आवश्यक सेन्सर प्रक्रिया पूरा गरिसकेको छ र ब्रिटिस सेन्सर बोर्डबाट ‘पिजी सर्टिफिकेट’ प्राप्त गरेको छ। यसअघि ‘रंगी’ अष्ट्रेलियाका विभिन्न शहरमा समेत प्रदर्शन भइसकेको छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा बनेको फिल्म बाबुछोरीबीचको संवेदनशील सम्बन्धमाथि आधारित छ। फिल्मको निर्देशन सुरेश न्यौपानेले गरेका हुन्, जसका लागि यो डेब्यू निर्देशन हो।
फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ। यस्तै, यो फिल्म अभिनेता सलोन बस्नेतको पनि डेब्यू निर्माण हो।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माताका रूपमा संलग्न फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर र केवलमान सिंह बस्नेतको प्रोडक्सन रहेको छ।
फिल्ममा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत र शब्द, आनन्द कार्की, समीक्षा अधिकारी, सुजता केसी लगायतका स्वर रहेको छ भने कोरियोग्राफी कविराज गहतराज र शिशिर खातीले गरेका छन्। फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्ट हुन्।
वैशाख २२, २०८२ सोमबार १२:०२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।