प्रिशाको मृत्युबारे सत्यतथ्य छानबिनका लागि उच्च तहमा कुटनीतिक पहल गर्न सरकारलाई सभामुखले रुलिङ

काठमाडौं : सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न सरकारलाई निर्देशन दिएका छन्।
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी शाहको निधनबारे प्रतिनिधि सभाकाे बैठकमा सांसदहरूले कुरा उठाएका थिए। सांसदहरूले विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको सुरक्षाकाे ग्यारेन्टीका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका थिए।
सांसद्हरूले आकस्मिक समयमा उठाएका विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न भएको समेत बताएका छन्।
सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न समेत सभामुख घिमिरेले निर्देशन गरेका छन्।
साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न समेत उनले निर्देशन दिएका छन्।
वैशाख २२, २०८२ सोमबार ११:५३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।