पूर्व डीएसपी भावनाको प्रसव पीडा र खुसी : भर्खर जन्मिएको छोरा देख्दा ‘एलियन’ जस्तो अजिब लाग्यो

पूर्व डीएसपी भावनाको प्रसव पीडा र खुसी : भर्खर जन्मिएको छोरा देख्दा ‘एलियन’ जस्तो अजिब लाग्यो

नेपाल प्रहरीमा दुई दशक लामो काम गरेकी भावना श्रेष्ठ खापुङ अहिले संयुक्त राष्ट्रसंघ (युएन) अन्तर्गत सेन्ट्रल अफ्रिकन रिपब्लिकमा युएनको सेक्युरिटी सेक्सनमा कार्यरत छिन्, जहाँ उनले तीन वर्षभन्दा बढी समय बिताइसकेकी छिन्।

नेपाल प्रहरीमा रहँदा नै उनले युएन मिसनमा काम गर्ने अवसर पाएकी थिइन्। हाइटीमा बिताएको समय र त्यहाँको अनुभवले उनको करिअरलाई थप बलियो बनायो। नेपालमा छुट्टीको समयमा आउँदा उनलाई भूपू प्रहरीको रूपमा चिनिनुमा गर्व लाग्छ। 

उनका श्रीमान् चन्द्र कुबेर खापुङ हालै नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। प्रहरी सेवामा रहँदा नै दुवैले एकअर्कालाई चिने, प्रेम गरे र अन्ततः विवाह गरे। यो जोडी अहिले दुई सन्तानका अभिभावक छन्।

भावनाले आफ्नो व्यस्त पेशागत जीवन र पारिवारिक जिम्मेवारीलाई सन्तुलनमा राख्न कुनै कसर बाँकी राखेकी छैनन्। नेपाल प्रहरीमा डीएसपीको पदमा पुगेकी यिनै भावनाले आफ्नो मातृत्व अनुभवलाई उकेराको नियमित स्तम्भमा यसरि सुनाइन् :

बाल्यकाल र प्रहरी बन्ने सपना
मेरो जन्म भक्तपुरको थिमीमा भए पनि बाल्यकालको अधिकांश समय पोखरामा बित्यो। मेरो बुवा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्नुहुन्थ्यो। हामी चार छोरी थियौँ, तर बुवाले हाम्रो शिक्षामा कहिल्यै कमी हुन दिनु भएन। उहाँले सधैँ भन्नुहुन्थ्यो, ‘इन्जिनियर पढ्, कि त नेपाल प्रहरीमा भर्ती हो।’

बुवाको त्यही कुराले मेरो मनमा सानैदेखि प्रहरी बन्ने सपना अंकुरायो। तर, प्रहरीको काम र संरचनाबारे मलाई त्यति बेला खासै केही थाहा थिएन। पोखरामा स्कूले शिक्षा पूरा गरेपछि म काठमाडौँ आएँ। यहाँ आएर प्रहरी सेवामा जोडिएँ, प्रहरी नायब निरीक्षक (सब-इन्स्पेक्टर) को रूपमा।

प्रहरीको जागिर सहज थिएन। रात-दिन नभनी ड्युटी गर्नुपर्ने, जोखिमपूर्ण परिस्थितिको सामना गर्नुपर्ने। तर, यो पेशाले मलाई अनुशासन, समर्पण र देशप्रतिको जिम्मेवारी बोध गरायो।

प्रहरी सेवामा प्रवेश गरेको छ/सात वर्षपछि मैले युएनको फर्म्ड पुलिस युनिट (एफपीयु) मा हाइटीमा जाने अवसर पाएँ। त्यहाँ जानुअघि विशेष तालिम लिनुपर्ने थियो। त्यही तालिमका क्रममा मेरो श्रीमान्सँग भेट भयो। हामीले एकअर्कालाई मन परायौँ।

हाम्रो विवाह २०६६ मा भएको थियो। उहाँ मभन्दा १० वर्ष जेठो हुनुहुन्छ। मैले २७ वर्षको उमेरमा विवाह गरेको थिएँ। उहाँ पूर्वको लिम्बु समुदायबाट हुनुहुन्छ, म भक्तपुरको नेवार समुदायबाट। हाम्रो परिवारमा अन्तरजातीय विवाह हाम्रो पहिलो थियो। 

सुरूमा केही भावनात्मक र सामाजिक चुनौतीहरू सामना गर्नुपर्यो। मेरो परिवारले त विवाहको कार्डमा श्रीमान्को नाम पनि लेख्न दिएका थिएनन्। तर, समयसँगै सबै कुरा सहज हुँदै गयो। मेरो श्रीमान् अत्यन्त समझदार र सहयोगी हुनुहुन्छ। उनकै साथ र समर्थनले म आज देशबाहिर बसेर पनि सहज रूपमा काम गर्न सकिरहेकी छु।

हामीले सन्तानका लागि धेरै समय कुर्न चाहेनौँ। विवाह भएको एक वर्षमै हाम्रो पहिलो सन्तान जन्मियो।

पहिलो सन्तान र मातृत्वको नयाँ अनुभव
पहिलो गर्भावस्थाको खबरले मलाई एकातिर खुसी, अर्कोतिर डर लागेको थियो। गर्भवती भएको थाहा पाउँदा ‘के गर्ने, कसलाई भन्ने, भन्ने कि नभन्ने?’ जस्ता कुराले मनमा दोधार उत्पन्न भएको थियो। त्यतिबेला खुलेर कुरा गर्ने चलन पनि थिएन। मेरो दिदी र काकाहरू मेडिकल क्षेत्रमा भए पनि मलाई उहाँहरूसँग कुरा गर्न असहज लाग्यो। श्रीमान्सँग पनि यो विषयमा खुलस्त कुरा गर्न सकिँन। हामी दुवै पहिलो सन्तानको अनुभवमा अलमलिएको जस्तो थियौँ।

गर्भावस्थाको नौ महिना सामान्य रूपमा बित्यो। मलाई मासु खान मन लागेन, तर शारीरिक र मानसिक रूपमा स्वस्थ थिएँ। गर्भावस्थाको सात/आठ महिनासम्म म बानेश्वरबाट प्रहरी मुख्यालयसम्म छाता ओढेर हिँड्थेँ। खुट्टा सुन्निन्थ्यो, तर मलाई हिँड्न मन लाग्थ्यो। सायद नियमित हिँडाइले मेरो शरीरलाई कसरत भएको थियो, जसले प्रसवलाई सहज बनायो।

गर्भावस्थाको शुरूमा खासै केही महसुस भएको थिएन। तर, जब बच्चाले हलचल गर्न थाल्यो, तब मलाई एक खालको डर, चिन्ता र माया एकैसाथ महसुस हुन थाल्यो। मेरो भित्र कोही हुर्किरहेको छ भन्ने थाहा पाउँदा मलाई आफू आमा बन्दैछु भन्ने अनुभूति बलियो हुँदै गयो। गर्भावस्थामा मेरो तौल पनि धेरै बढेन।

पहिलो सन्तानको प्रसवको समयमा मलाई राति ८ बजेपछि छिनछिनमा पिसाब लाग्ने, दिसा लाग्ने जस्तो भयो। पछि रगत पनि देखियो। हामी तुरुन्तै अस्पताल गयौँ। ठूलो छोरा दशैं-तिहारको बीचमा जन्मिएकाले अस्पतालमा भीड कम थियो।

प्रसवको रात मलाई बेचैन बनायो। दुखाइ खासै थिएन, तर व्यथाको सुई लगाएपछि मलाई एक घण्टा मरुला जस्तो भयो। त्यतिबेला मैले श्रीमान्लाई ‘म बाँच्दिन, मेरो आयु यति नै रहेछ’ भनेर पनि भनेँ।

तर, मलाई प्राकृतिक प्रसवको पक्षमा थिएँ। शल्यक्रिया गर्नुभन्दा त्यसपछिको जटिलता सम्झेर म डराउँथे। अन्ततः छोरालाई मैले प्राकृतिक रूपमै जन्म दिएँ। जन्म दिएपछि म गहिरो निद्रामा लिन भएँ। ब्यूँझिँदा छोरालाई पहिलो पटक हेरेँ। उसलाई देख्दा अजिब लाग्यो।

गर्भको पानीमा बसेर आएकाले होला, ऊ सेतो र सुन्निएको थियो। अरूको बच्चा चिटिक्क परेको देखेकी मलाई मेरो छोरा त ‘एलियन’ जस्तो लाग्यो। तर, सुन्निएको कम हुँदै गएपछि ऊ आफ्नो आकारमा आयो। उसलाई काखमा लिँदा मलाई ‘म आमा भएँ’ भन्ने अनुभूति भयो, जुन शब्दमा व्यक्त गर्न सकिन्न।

स्तनपान र सुत्केरीको चुनौती
स्तनपानको सुरूवात निकै कठिन थियो। मलाई भोक लागेर घर आएर टन्न खाना खान्थेँ, तर सबै खाना दूध बन्नमा खर्च हुन्थ्यो। दूध धेरै भएर गाँठो पर्यो, पम्पले तानेर फाल्नुपर्यो। दुई महिनासम्म यो समस्याले सतायो। हामी श्रीमान्-श्रीमती मात्र थियौँ, सुत्केरी स्याहार्ने कोही थिएन। श्रीमान्ले  कपडा धुने, मलाई स्याहार्नेदेखि सबै काम गर्नुभयो।

छोरा जन्मिँदा साढे तीन किलोको थियो। हामीलाई उसलाई कसरी समात्ने, बोक्ने भन्ने डर लाग्थ्यो। तीन हप्तापछि म माइती गएँ। आमाको काखमा पुग्दा स्याहारको स्तर नै फरक भयो। मलाई लाग्यो, म आमा भएपछि मैले मेरी आमामा अर्को आमा पाएँ। आमाले हाम्रो लागि जे-जति गर्नुभयो, त्यसप्रति म सधैँ कृतज्ञ छु।

दोस्रो सन्तान र परिपक्व अनुभव
हाम्रो दोस्रो सन्तान योजनाबद्ध थिएन। गर्भ रहेको थाहा पाउँदा केही समय दोधार भयौँ। श्रीमान्ले भन्नुभयो, ‘तिमीले बच्चालाई समय दिनुपर्छ, तिमी नै निर्णय गर।’ मैले सोचेँ, ठूलो छोरालाई साथी चाहिन्छ।

दोस्रो गर्भावस्थामा मलाई तीन महिनासम्म वान्ता भयो। शरीर कमजोर भएको जस्तो लाग्थ्यो। दुई सन्तान भएपछि शरीर थाक्ने, कहिलेकाहीँ चिडचिड हुने हुन्थ्यो। अहिले पोस्टपार्टम डिप्रेसनको कुरा सुनिन्छ, सायद मलाई पनि केही हदसम्म भएको थियो। तर, त्यतिबेला यस्ता कुरा खुलेर बोल्ने चलन थिएन।

दोस्रो छोरा जन्माउन अस्पताल पुगेको आधा घण्टामै जन्मियो। नियमित कसरत र मानसिक तयारीले सबै सहज भयो। स्तनपानमा पनि पहिलेजस्तो समस्या भएन। दोस्रो सन्तानप्रति माया कम होला भन्ने डर थियो, तर माया त उस्तै रहेछ। सायद माया जति बाँड्यो, उति बढ्छ। 

सन्तानसँगको सम्बन्ध र भविष्य
मेरा दुई छोराको स्वभाव फरक छ, तर दुवैमा गहिरो आत्मीयता छ। म उनीहरूसँग पूर्ण समय बिताउन सक्दिनँ, तर जति समय पाउँछु, उनीहरूलाई दिन्छु। हाम्रा आमाहरूले जसरी हामीमै समर्पित भएर समय दिनुभयो, त्यस्तो समय मेरा छोरालाई दिन नसकेकोमा खल्लो लाग्छ। ठूलो छोरा आइटीमा रुचि राख्छ, सानो छोराको रुचि अझै मिश्रित छ।

प्रहरी भएको नाताले मैले उनीहरूलाई सानैदेखि सचेत हुन सिकाएँ। प्रहरीको आपत्कालीन नम्बर १०० उनीहरूलाई कण्ठै छ। अहिले पनि उनीहरूले अन्य बालबालिकालाई यो नम्बर सिकाउँछन्। अब उनीहरू धेरै बुझ्ने भइसके। हाम्रो परिवार पूरा भएको छ जस्तो लाग्छ। उनीहरू भएको कारण हामी धेरै खुसी छौँ। उनीहरूलाई पनि खुसी पार्ने विभिन्न तरिकाहरू अपनाइरहेका हुन्छौँ।

मातृत्व, प्रहरी सेवा र युएनको जिम्मेवारीले मेरो जीवनलाई बहुआयामिक बनाएको छ। हरेक चुनौतीले मलाई बलियो बनायो, र हरेक खुसीले जीवनलाई रंगीन। अनुभवले मलाई जीवनमा सन्तुलन, धैर्य र प्रेमले हरेक कठिनाइलाई सहज बनाउँछ भन्ने कुरा सिकायो।

प्रसव पीडाका यसअघिका सामग्री 
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

वैशाख २२, २०८२ सोमबार ११:२५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।