अन्तिम संस्कार गरेको १६ दिनपछि ममताको हातमा परेको श्रीमानको त्यो चिठी !

सुर्खेत : २०६१ जेठ १९ मा लेखिएको एउटा चिठी, असार २१ मा ममता नगालाको हातमा पुग्यो। हुलाकमार्फत आएको यो कुनै साधारण चिठी थिएन। सशस्त्र द्वन्द्वले देशलाई आक्रान्त बनाइरहेका बेला यो चिठी उनका श्रीमान् कमल नगालाले दाङको भालुवाङबाट लेखेका थिए।
२३ वर्षीय कमल सशस्त्र प्रहरी बल, त्रिपुरा गण, दाङमा कार्यरत थिए। यो चिठी ममताका लागि कमलसँगको अन्तिम संवाद बन्यो, किनभने चिठी पुग्नुअघि नै कमल यो संसारमा थिएनन्।
२०६१ असार ४ मा दाङको धानखोलामा माओवादीले थापेको विद्युतीय धराप (एम्बुस) मा परेर कमलको मृत्यु भइसकेको थियो। असार ५ मा ममता आफ्नो नौ महिने छोरालाई काखमा च्यापेर दाङ पुगिन्। श्रीमानको शव लिएर सुर्खेत फर्किइन् र अन्तिम संस्कार गरिन्।
यो पीडादायी क्षणमा पनि उनले आफूलाई सम्हालेकी ममताले जब मृत्युअघि श्रीमानले लेखेको चिठी पाइन्, तब उनको मन थामिएन। खाटो बस्न लागेको उनको घाउ कोट्याए झैँ भयो। विवाहको चार वर्षमै एकल भएकी ममतालाई यो चिठीले भावनात्मक रूपमा झनै विचलित बनायो।
कमलले जागिर सुरू गरेको दुई वर्ष मात्र भएको थियो। यसबीचमा उनी एकपटक मात्र घर आउन भ्याएका थिए। ममता त्यतिबेला आठ कक्षामा पढ्दै थिइन्। सानै उमेरमा नाबालक छोराको पालनपोषणको जिम्मेवारी उनको काँधमा आइपर्यो।
कमलले चिठीमा लेखेका शब्दहरू ममताको हृदयमा अमिट रूपमा बसेका छन्। उनले लेखेका थिए, ‘प्रिय माया, बाध्यता र विवशताले म यहाँ छु। घर र छोराको सम्झनाले हरपल सताउँछ। छोराको राम्रो हेरचाह गर्नु। म चाँडै फर्किने आशामा छु।’
तर, कमलको यो आशा कहिल्यै पूरा भएन। यो चिठी ममताका लागि कमलसँगको अन्तिम कुराकानीजस्तै बन्यो।
त्यो बेलाको पीडादायी अवस्था सम्झँदै ममता भन्छिन्, ‘चिठी पाउँदा उहाँ कतैबाट फर्किन्छन् जस्तो लाग्यो। चिठी पढ्दा उहाँकै आवाज सुनिन्थ्यो। अहिले पनि चिठी हेर्दा छाती भक्कानिन्छ। उहाँले लेखेका शब्दहरू मेरो हृदयमा गढेका छन्।’
सशस्त्र द्वन्द्वले ममता जस्ता हजारौं महिलाको खुसी खोस्यो। परिवार गुमाएका, एकल बनेका र जीवनको आधारभूत आवश्यकताबाट वञ्चित भएका महिलाहरूको व्यथा र ममताको व्यथा एउटै हाे। द्वन्द्वले कर्णालीलगायत देशभरका लाखौं परिवारलाई पीडा दियो।
सामाजिक क्षेत्रमा ममताको अग्रसरता
कमलको मृत्युपछि ममताको जीवनमा गहिरो अँध्यारो छायो। नाबालक छोराको भविष्य, पारिवारिक जिम्मेवारी र भावनात्मक पीडाले उनलाई दिनरात थिच्यो। राज्यबाट केही आर्थिक राहत प्राप्त भयो, तर श्रीमानको अभावको क्षतिपूर्ति कहिल्यै पूरा भएन। तैपनि, ममताले हार मानिनन्। उनले आफ्नो पीडालाई शक्तिमा बदलिन् र सामाजिक क्षेत्रमा सक्रिय भइन्।
२०६३ देखि उनले सामाजिक कार्यमा आफूलाई समर्पित गरिन्। वडा नागरिक मञ्चको संयोजक, सामुदायिक मेलमिलापकर्ता, न्यायका लागि द्वन्द्वपीडित समाज, सशस्त्र प्रहरी परिवार संघको केन्द्रीय सचिवजस्ता भूमिकामा काम गरिन्।
हाल उनी मानव अधिकारका लागि एकल महिला, सुर्खेतको अध्यक्ष र द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जाल, सुर्खेतकी संयोजक छिन्। हिंसापीडित महिला, बालबालिका, एकल महिला र असहायका लागि उनले लामो समयदेखि अथक काम गरिरहेकी छन्।
ममताको नेतृत्वमा सुर्खेतमा एकल महिला छहारी स्थापना भयो। यो संस्थाले हिंसापीडित महिला, बालबालिका र विपद्पीडितलाई आश्रय प्रदान गर्छ। यहाँ आउने महिलाहरूले सुरक्षित वातावरणमा आफ्नो जीवनलाई अगाडि बढाइरहेका छन्। ममताले यस्ता महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिम, परामर्श र जीविकोपार्जनका अवसरहरू पनि प्रदान गरिरहेकी छन्।
हालै उनकै पहलमा कर्णालीको पहिलो सुर्खेत पिस ग्यालरी तथा स्मारिका स्थापना भयो। यो ग्यालरी द्वन्द्वकालका घटना, तस्बिर र दस्तावेजको संग्रहालय हो। यहाँ १०७ वटा फोटो, समाचार, अनुभव र दस्तावेज छन्, जुन क्रमशः विस्तार हुँदैछ। यो ग्यालरीलाई अध्ययन केन्द्रका रूपमा विकास गर्ने ममताको योजना छ।
विश्वविद्यालय, विद्यालय र अनुसन्धानकर्ताहरूले यहाँ द्वन्द्वकालको अध्ययन गर्न सक्छन्। ग्यालरीले द्वन्द्वको पीडा र यसबाट सिक्नुपर्ने पाठलाई भावी पुस्तासम्म पुर्याउने लक्ष्य राखेको ममत बताउँछिन्।
ममताले द्वन्द्वपीडित, विशेषगरी महिलाको अधिकारका लागि सरकारसँग संवाद, सांकेतिक आन्दोलन र विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेकी छन्। ममताले आफ्नो छोरालाई स्नातकसम्म पढाइरहेकी छन्। उनी आफैँ पनि स्नातक अध्ययनरत छिन्।
उनी भन्छिन्, ‘मेरो श्रीमान् द्वन्द्वकालमा शहीद हुनुभयो। तर, सत्य निरुपण तथा मेलमिलाप आयोगबाट मैले न्याय पाइनँ। सरकारले वाचा गरेका राहत र पुनर्स्थापना कार्यक्रम पनि कागजमै सीमित छन्।’
द्वन्द्वको छायाँ र तथ्याङ्क
सत्य निरुपण तथा मेलमिलाप आयोगको २०८०/०८१ को प्रतिवेदनअनुसार देशभर ६३ हजार ७१८ द्वन्द्वसम्बन्धी घटना दर्ता भएका छन्। यसमध्ये कर्णाली प्रदेशबाट १६ हजार २०९ घटना छन्, जुन देशभरकै सबैभन्दा उच्च संख्या हो।
अनौपचारिक क्षेत्र सेवा (इन्सेक) कर्णालीका अनुसार कर्णालीमा तीन हजार २३६ द्वन्द्वपीडित परिवारले न्याय, सत्य, तथ्य र परिपूरणको माग गरिरहेका छन्। यसमध्ये ४३२ जना अपाङ्ग, ९९ जना बेपत्ता र दुई हजार ७०५ जनाको हत्या भएको छ।
राष्ट्रिय मानव अधिकार आयोग, कर्णालीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका १० जिल्लाबाट २३८ उजुरी दर्ता भए। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मार्फत प्रक्रिया अघि बढाए पनि द्वन्द्वपीडितहरू अझै न्याय, पुनर्स्थापना र जीविकोपार्जनका अवसर पर्खिरहेका छन्।
द्वन्द्वले कर्णालीका जिल्लाहरूमा गहिरो प्रभाव छोड्यो। सल्यानमा २८१, रुकुमपश्चिममा ५,०६५, सुर्खेतमा ३६६, जाजरकोटमा ४५०, दैलेखमा ३०९, डोल्पामा ५८, जुम्लामा २९८, कालिकोटमा ६९०, मुगुमा ८८ र हुम्लामा १३१ द्वन्द्वपीडित छन्।
कमलको अन्तिम चिठी
२०६१ जेठ १९, भालुवाङ
प्राणप्रिय प्यारी श्रीमतीज्यू,
मुटुभरि माया र मिठो सम्झना, प्रिय जीवनसाथी। म यहाँ आरामै छु। तिमी र छोरा पनि आरामै छौ भन्ने आशा गरेको छु। देशको अवस्था र मेरो बाध्यताले चिठी लेख्नुको खास कारण त केही छैन। तर, आमा-छोराको सम्झनाले हरपल, हरक्षण सताइरहन्छ। सुनेको थिएँ, गाउँतिर घरमा निकै ठूलो समस्या छ। सायद, आज म त्यहाँ भएको भए तिमीलाई त्यसरी बस्नुपर्ने थिएन होला।
रहर भनौँ वा बाध्यता, समय सधैँ एकनास हुँदैन रहेछ। हजारौँ सपना र चाहनाहरू पूरा गर्न, तिमी र छोरालाई सहज बनाउन म आज यहाँ छु। माया, मैले कुनै चाहना पूरा गर्न सकेको छैन। तर, कुनै दिन समय आउँछ भन्ने आशा गरेको छु। तिमीलाई कहिल्यै दुख नदिने अठोट पनि राखेको छु। सबै कुरा सोचेजस्तो हुँदैन। कहिलेकाहीँ लाग्छ, मेरो पनि बुझ्ने बा-आमा भएको भए मेरो घर-परिवार कस्तो हुन्थ्यो होला?
मन नपर्दानपर्दै तिमीले आफ्नो परिवार र बा-आमाको इज्जतका लागि सबै चाहनाहरू त्याग गरेकी छौ। मलाई थाहा छ, माया। सासू-ससुरालाई सम्झना सुनाइदिनु। भगवान्सरह मेरा ससुराले मेरो कारण दुख पाएका मेरो छोरा र श्रीमतीलाई जसरी सहयोग गर्नुभएको छ, कुनै दिन म असल ज्वाइँ बनेर देखाउने छु।
प्यारी माया, तिमीले केही चिन्ता नलिनु। आफू र बच्चाको ख्याल गर्नु। हुन त, तिमी मभन्दा धेरै बुझ्ने छौ। म तालिममा आइसकेको छु। मैले आउँदा चिठी लेखेको थिएँ, त्यसको जवाफ पठाएनौ। अर्को महिना तालिम सकिएपछि तिमीहरूलाई बोलाउने सोचेको छु। नौबस्ताबाट तिमीलाई घर पठाउने मन थिएन, तर तिमी हतारमा समाज र घर भन्दै गयौ। आखिर गएपछि के भयो? कसरी तिमीलाई छुट्टै पारियो? सबै लेखेर पठाउनु।
अनि, छोरालाई पनि सन्चो थिएन रे। डाक्टर अंकलले औषधि गरेर सन्चो बनाउनुभयो भन्ने सुनेँ। मलाई पनि बाध्यता थियो। पैसा सबै बुवालाई पठाएको थिएँ, तिमीलाई पठाउन सकिनँ। अब सबै कुरा मिलाउँछु। म यहाँ तिमीहरूलाई बोलाउन खोज्दैछु, बहाना बनाउन पाइने छैन। गाउँघरतिर सबैलाई सम्झेको छु भनिदिनु। बाहिर कतै जाँदा ख्याल गर्नु।
बाईबाई, अर्को भेटमा,
उही तिम्रो मनमुटु,
कमल
वैशाख २२, २०८२ सोमबार १०:०५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।