विदेशी फिल्ममाथि एक सय प्रतिशत कर लगाउँदै ट्रम्प, राष्ट्रिय सुरक्षाको लागि खतरा भएको तर्क

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी फिल्महरूमा पनि कर लगाउने घोषणा गरेका छन्। उनले विदेशी फिल्महरूमा १०० प्रतिशत कर लगाउने बताएका हुन्।
सामाजिक प्लेट ट्रुथ सोसियलमा यो घोषणा गर्दै उनले लेखेका छन्, ‘अमेरिकाको फिल्म उद्योग धेरै छिटो मर्दैछ। अन्य देशहरूले हाम्रा फिल्म निर्माताहरू र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन्।’
यो कदम अन्य देशहरूद्वारा संगठित प्रयास भन्दै ट्रम्पले यसलाई ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ समेत बताउन भ्याए।
ट्रम्पले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरू गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको बताए।
जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले विश्वभरका देशहरूमा कर लगाएका छन्। उनले करले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहन दिनेछ र रोजगारी बचत गर्ने रटान लगाउँदै आएका छन्।
तर, उनको निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ।
वैशाख २२, २०८२ सोमबार ०८:०७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।