सुरक्षण मुद्रण उपकरण खरिदमा ४० करोड भ्रष्टाचार पुष्टि

सुरक्षण मुद्रण उपकरण खरिदमा ४० करोड भ्रष्टाचार पुष्टि

काठमाडौं: सुरक्षण मुद्रण उपकरण खरिदमा ४० करोड ७५ लाख भ्रष्टाचार भएको पुष्टि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोग पत्रको मागदावी विशेष अदालतबाट सदर भएसँगै सो खरिदमा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० मा मुद्दा दायर गरेको थियो। आइतबार विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित तीन जनालाई दोषी ठहर गर्यो। बाँकीलाई सफाइ दियो।

सुरक्षण मुद्रण केन्द्रले बोलपत्र नं एसपिसी/जी/एनसीबी-०१/०७७-७८ को सुरक्षण प्रेसको प्रणाली तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएको पाइएको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आइतबार सुनाएको फैसला अनुसार, पौडेलसँगै म्याक्स इन्टरनेसनल प्रालि र सोही कम्पनीका सिइओ अकबर हुसेन समेत दोषी प्रमाणित भए।

सजाय विवरण

  • विकल पौडेल: दुई कसुरमा गरी दुई वर्ष कैद।
  • अकबर हुसेन: डेढ वर्ष कैद
  • तीनै दोषी: प्रत्येकबाट १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना असुल गरिने
  • क्षतिपूर्ति शुल्क: प्रत्येकबाट ५४ लाख ३४ हजार रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्नुपर्ने

सफाइ पाउनेहरू

सोही मुद्दामा अभियोग लगाइएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, सुरक्षण केन्द्रका लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेलाई अदालतले दोषमुक्त घोषित गर्यो। फैसलामा उनीहरू खरिद प्रक्रियामा संलग्न देखिए पनि निर्णायक भूमिका नभएको उल्लेख छ।

आरोपहरू

अख्तियारको अनुसन्धानअनुसार पौडेल, सफल श्रेष्ठ र नवीनकुमार पोखरेलसमेतको आपसी मिलेमतो तथा योजनामा सार्वजनिक खरिद ऐन र नियमावलीको विपरीत आवश्यक प्रक्रिया नपुर्याई म्याक्स इन्टरनेसनलसँग मिलेर अनियमित तरिकाले प्रस्ताव आह्वान गरिएको थियो।

उनीहरूले कागजमा आधारित मुद्रण यन्त्र को लागि खर्च गर्नुपर्नेमा आवश्यकताभन्दा बढी दुई वटा मुद्रण यन्त्र खरिद गरेको, मुद्रण यन्त्रमा एकीकृत हुने कम क्षमताको काट्ने यन्त्र खरिद गर्दा पर्याप्त हुनेमा मनासिब कारण बिना २० गुणा बढी क्षमताको आवश्यक नै नदेखिएको काट्ने यन्त्र खरिद तथा मुद्रण उत्पादन प्रणाली सञ्चालनको लागि अमिल्दो र अनावश्यक संवेदनशील सूचना प्रविधि प्रणाली समेत यसै ठेक्का मार्फत खरिद गरी हाल प्रयोगमा समेत नआएको पाइएको छ।

आयोगले विकल पौडेलले विदेशी कम्पनी बान्कोटेक प्राइभेट लिमिटेड, सिंगापुरबाट कमिसनबापतको रकम सिंगापुर र अमेरिकामा रहेका आफ्ना खाताहरूमा जम्मा गरेको प्रमाण फेला पारेको उल्लेख गरेको थियो।

वैशाख २२, २०८२ सोमबार ०१:१६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।