सरकारको आयुबारे ढुक्क ओली, खुलाए दुई आधार

काठमाडौं : आइतबारको पार्टी सचिवालय बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री सरकारको आयुबारे बढी नै ढुक्क देखिए।
बैठकका एक सहभागीका अनुसार यस अगाडिका बैठकमा ओली नेपाली कांग्रेससँगको गठबन्धनबारे त्यति ढुक्क देखिएका थिएनन्। उनले बैठकहरूमा सरकारको नेतृत्व बदल्ने प्रयास भइरहेको सुनाउँथे। तर सम्भव नहुने दाबी गरे पनि ढुक्कै भने देखिदैनथे।
अहिले सत्ता सहयोगी दल कांग्रेसभित्र सरकारको आलोचना बढिरहेको छ। महामन्त्री गगन थापा अनि नेता शेखर कोइराला त सार्वजनिक मञ्चबाटै सरकारको कटु आलोचना गरिरहेका छन्।
आइतबार एमाले सचिवालय बैठकमा पनि यो प्रसङ्ग नउठेको हैन। तर उनले आफ्नै सरकार भए पनि आलोचना गरिरहने कांग्रेसका एकथरी नेताहरूको बानी रहेको भन्दै सरकार बदल्न चाहनेहरू कमजोर भएको र गठबन्धन पुरै समय टिक्ने बताए।
सहभागी एक नेताका अनुसार गठबन्धन सुरक्षित भएकोमा उनी दुई कारणले ढुक्क देखिएका थिए। पहिलो त कांग्रेस सभापति शेरबहादुर देउवाको स्वभाव।
सरकार बदल्ने विषयमा गृहकार्य भएको अवस्थामा देउवाले 'सहकार्य अगाडि लैजान नसकिने भयो' भन्ने स्वभाव रहेको तर सरकारलाई पुरै साथ रहेको भनेकाले सरकार पुरै समय टिक्ने आत्मविश्वास देखियो उनमा।
एमाले-माओवादी गठबन्धन भत्किएर एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार बन्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेसकै नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरे पनि देउवाले 'अब सकिन्न, सहमति भइसक्यो' भनेको प्रचण्डले नै बताएका थिए।
एमाले अध्यक्ष ओलीले बरु लुकाएको तर एमाले-कांग्रेसको राजनीतिक सहमतिबारे सोध्दा देउवाले स्विकारेको उनले बताएका थिए।
माओवादीसँगको गठबन्धन भएको बेलामा आफूले भेट्न खोज्दा देउवाले नमानेको ओलीले नै सार्वजनिक गरेका थिए। उत्तरमा उनले प्रतिपक्षी दलको नेतालाई एक्लै भेट्दा सहयात्री दलमा शंका बढ्ला भनेर नभेटेको बताएकै थिए। अहिले नि उनले प्रचण्डसँग एक्लै भेटेका छैनन्।
त्यही आधारमा हुनसक्छ आइतबारको बैठकमा देउवाले नचाहेसम्म कांग्रेसमा केही नहुने र उनीबाट धोका नहुनेमा ओली ढुक्क देखिए।
अर्को कारण संसदीय अङ्क गणित। एमालेको सहयोग नभई सरकार बनाउने संख्या जुटाउन त्यति सहज छैन। त्यसमा पनि दलहरू भित्र धुर्विकरण बढिरहेकै छ। यसले पनि आफ्नो नेतृत्वको सरकार विरुद्ध तत्काल नयाँ गठबन्धन बन्ने सम्भावना नरहेको ओलीको निष्कर्ष देखियो।
वैशाख २१, २०८२ आइतबार २३:४८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।