मिश्रको हिरासत पाँच दिन थपियो, हिरासतबाट अस्पताल जान प्रसाईँको प्रयास

काठमाडौं : तीनकुनेको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा समातिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको प्रहरी हिरासत अवधि पाँच दिन थपिएको छ। प्रहरीले आइतबार उनीसहित २५ जनालाई अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत काठमाडौं लगेकोमा थप पाँच दिन थपिएको हो।
राजावादी आन्दोलन हिंसात्मक भएपछि चैत १५ बेलुका सङ्गठित अपराध राज्य विरुद्धको अपराधमा संलग्न रहेको अभियोगमा समातिएका उनलाई न्यायिक हिरासतमा राख्न अदालतले आइतबार छैटौँ पटक म्याद थपेको हो।
यस अगाडि म्याद थपका लागि लैजाँदा प्रहरीको व्यवहारको आलोचना भएको थियो भने धवल शमशेर राणालाई उपचारको फलोअपका लागि हाजिर जमानीमा छाडेपछि मिश्रलाई पनि जमानीमा छाड्न दबाब बढेको थियो। तर अदालतले हाजिर जमानीबारे कुनै आदेश दिएन।
हिरासतबाट अस्पताल जान प्रसाईँको प्रयास
तीनकुनेमा भएको प्रदर्शनको कमान्डर भनिएका दुर्गा प्रसाईँविरुद्ध प्रहरीले सङ्गठित अपराध र राजद्रोहसँगै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रवको आरोप थपेको छ। हिरासत अवधि लम्बिने भएपछि प्रसाईँले अदालतमा क्यान्सर रोगको उपचारका लागि भन्दै तारेख वा हाजिर जमानीमा छाड्न निवेदन दिएका थिए।
अदालतले प्रसाईँको निवेदन अनुसार कुनै आदेश त दिएन तर उनको उपचारको प्रबन्ध गर्न भने आदेश दिएको छ। अदालतको इजलासले ज्यानसम्बन्धी कसुरमा बयान गर्न बाँकी रहेको भन्दै तारेख वा हाजिर जमानीको निवेदन स्वीकार गरेन। उपचारको व्यवस्था गर्न आदेश दियो।
तीनकुने प्रदर्शनपछि आयोजक समितिमा रहेकाहरूलाई प्रहरीले पक्राउ गर्न थालेपछि प्रसाईँ भागेर भारत पुगेको १४ दिनपछि नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा नियन्त्रणमा लिएर नेपाल ल्याएको थियो।
आफू क्यान्सर सर्भाइवर रहेको बताउँदै आएका प्रसाईँ यस अगाडि पनि पक्राउ पर्दा उपचारका लागि भन्दै अस्पतालमा बस्ने गरेका थिए। तर जब अदालतबाट धरौटी निस्कियो उनी पनि त्यही दिन अस्पतालबाट घर जाने गरेका थिए।
वैशाख २१, २०८२ आइतबार २१:५२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।