घोप्टो अवस्थामा भेटियो प्रेमाको शव, हत्या शंकामा श्रीमान् प्रहरी नियन्त्रणमा

सुर्खेत : भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीको शव भेटिएको छ। रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दुरीमा आइतबार ओलीको शव भेटिएको हो।
उनको शव पानीमा घोप्टो परेको अवस्थामा रहेकाले घटना शङ्कास्पद रहेको भन्दै प्रहरी टोली कुकुरसहित अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढा थापाले जानकारी दिए।
‘मृतकको टाउकोमा चोट लागेको छ। शरीर रगताम्मे छ। घटना शङ्कास्पद रहेकोले नेपालगन्जबाट प्रहरीको कुकुर ल्याएर अनुसन्धानमा जुटेका छौँ,’ उनले भने, ‘मृतका श्रीमान् दर्शन खत्रीलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय छिञ्चुले घरबाटै नियन्त्रणमा लिएको छ।’
उनका अनुसार आफन्तहरूको रोहबरमा शवको सनाखत भई पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा पठाइएको छ। मृतक प्रेमाका श्रीमान् नेपाली सेनामा कार्यरत छन्। मृतककी एक छोरी छिन्।
वैशाख २१, २०८२ आइतबार २१:३२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।