पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन लेखामा, मिडियामा पहिल्यै सार्वजनिक भएकोमा सदस्यहरूको विमति

पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन लेखामा, मिडियामा पहिल्यै सार्वजनिक भएकोमा सदस्यहरूको विमति

काठमाडौं : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे छानबिन गर्न गठित उपसमितिले बनाएको प्रतिवेदन बाँडेको छ। समितिको आइतबारको बैठकमा समितिका सदस्यहरूलाई अध्ययनका निम्ति प्रतिवेदन बाँडेको हो।

समितिले पोखरा विमानस्थल निर्माणकोक्रममा भएको अनियमितताबारे समितिमा परेको उजुरीबारे छानबिन गर्न सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उप-समितिले करिब ८ अर्ब बढी अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको थियो।

प्रतिवेदनमा  आयोजनाको १४ अर्ब लागत बढाएर २२ अर्ब रुपैयाँ पुर्याउँदा अनियमितता भएको दाबी छ। प्रतिवेदनमा विमानस्थल निर्माणमा प्रत्यक्ष संलग्न नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसहितलाई तत्काल निलम्बन गर्न समेत सिफारिस गरेको थियो।

समितिको पूर्ण बैठकमा बोल्दै सदस्यहरू अर्जुननरसिंह केसी र मनिष झाले समितिको औपचारिक रूपमा प्रतिवेदन नआई बाहिर सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए। उनीहरूले उप-समितिले प्रतिवेदन तयार पारेपछि सार्वजनिक कसरी गर्ने विषयमा प्रक्रियागत त्रुटि भएको धारणा राखेका थिए।

अर्का सदस्य राजेन्द्र केसीले समितिको पूर्ण बैठकमा प्रतिवेदन आउनु अगाडि नै सार्वजनिक हुँदा समितिको विश्वसनीयता माथि नै प्रश्न उठाउने काम भएको धारणा राखेका थिए। प्रेम आलेले त प्रतिवेदनबारे समितिमा छलफलै नभई सार्वजनिक गर्ने माथि छानबिनसम्मको माग गरे।

आइतबार बसेको बैठकले सोही प्रतिवेदनबारे छलफल अगाडि बढाउन समितिका सदस्यहरूलाई बाँडेर आउँदो बैठकमा छलफल गर्ने निर्णयसमेत गरेको छ।

समिति सभापति ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले भैरहवा विमानस्थलबारे छानबिन गर्न गठित उपसमितिका संयोजक योगेश भट्टराई उप-समितिमा नबस्ने घोषणा गरेकाले नयाँ संयोजक चयन गरी यथाशक्य प्रतिवेदन बुझाउन उपसमितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ। 

वैशाख २१, २०८२ आइतबार १९:३५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।