मोरङ कारागारका थुनुवाको मृत्यु

विराटनगर : जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको मृत्यु भएको छ।
थुनुवाको आइतबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। कारागारका जेलर गौरव ढुंगेलका अनुसार मृतक ५४ वर्षीय प्रवीण तामाङ रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का बासिन्दा हुन्।
ठगी मुद्दामा थुनामा रहेका तामाङलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान ४ बजे तामाङको ज्यान गएको ढुंगेलले बताए।
तामाङ २०८१ पुस १६ गते अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भएका थिए। उनको ठगीसम्बन्धी मुद्दा अझै अदालतमा विचाराधीन छ।
तामाङको शव कोशी अस्पतालमै राखिएको छ। परिवारलाई सूचना दिइएको र उनीहरू आइपुगेपछि थप प्रक्रिया अघि बढाइने कारागार प्रशासनले जनाएको छ।
वैशाख २१, २०८२ आइतबार १४:१५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।