रवीन्द्र मिश्र जमानीमा छुट्लान् कि म्याद थपिएला ?

काठमाडौं : गत चैत १५ मा तीनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक भएपछि पक्राउ परेका रवीन्द्र मिश्रसहित २५ जनाको म्याद थप्न आइतबार प्रहरीले अदालत लैजाँदै छ।
राज्य विरुद्ध र सङ्गठित अपराधको आरोपमा समातिएका मिश्रसहितलाई न्यायिक हिरासतमा राख्न अदालतले पछिल्लो समय दिएको अनुमति आज आइतबार सकिने भएकाले प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गर्न लागेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहोराका अनुसार आज २५ जनाको म्याद थपका लागि अदालतमा पेस गर्ने तयारी भइरहेको छ।
गत साता म्याद थप्न अदालतमा हतकडीसहित लगेको र मिश्रले अदालत परिसरमा रहेका पत्रकार र शुभेच्छुकसँग बोल्न खोज्दा प्रहरीले गरेको व्यवहारपछि हिरासत अवधि लम्ब्याएकोमा सामाजिक सञ्जालमा विरोध भएको थियो।
भारतमा क्यान्सरको उपचार गरेर फर्किएका धवल शमशेर राणालाई उपचारको फलोअपमा जान हाजिर जमानीमा हिरासतमुक्त गरेपछि मिश्रलाई पनि मुक्त गराउन राप्रपा, राप्रपा नेपाल लगायतले दबाब बढाइरहेका छन्।
सङ्गठित अपराधमा ६० दिनसम्म न्यायिक हिरासतमा राख्न सक्ने कानुनी प्रावधान छ। तर अदालतको इजलासले यस अगाडि नै हिरासत अवधिबारे प्रहरीको ध्यानाकर्षण गराउँदै अनुसन्धानकै क्रममा हिरासतमुक्त गर्न सक्ने कानुनी प्रावधानबारे सम्झाएको थियो।
सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको प्रक्रिया बाँकी नै रहेको भन्दै म्याद थपका लागि अदालत लगिरहेको छ।
अनुसन्धान प्रक्रिया सकिएको तर मुद्दा प्रक्रिया अभियोगको चरणमा लैजान थप प्रक्रिया बाँकी भएको अवस्थामा प्रहरीले हिरासतमा रहेका व्यक्तिलाई सरकारी वकिलसँग सहमति लिएर हाजिर जमानीमा छाड्न सक्ने कानुनी प्रावधान छ। अदालतको इजलासले नै जमानीमा छाड्न आदेश दिन पनि सक्छ।
५४ जना छन् हिरासतमा
चैत १५ मा एक समूहले राजतन्त्र फर्काउन दबाब दिन भन्दै तीनकुनेमा गरेको प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको थियो। प्रदर्शनमा नजिकै रहेको एक घरमा प्रदर्शनमा सहभागीले आगो लगाउँदा एक पत्रकार मारिएका थिए।
प्रदर्शनस्थल र वरिपरि प्रहरीले गोली चलाउँदा गोली लागेर एक जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।
प्रदर्शनका क्रममा करिब ७० करोड बराबरको क्षति पुग्नेगरि तोडफोड भएको थियो। प्रदर्शनकारीले भाटभटेनीमा लुटपाट गरेका थिए।
यी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले डेढ सय हाराहारीलाई पक्राउ गरेको थियो। आयोजक समितिमा रहेका, भिडलाई उत्तेजित बनाउन संलग्न र आगलागीमा संलग्नमाथि राज्य विरुद्ध र सङ्गठित अपराधको आरोप लगाएको छ।
अहिले यही आरोपमा २५ जना हिरासतमा छन्। अन्यको हकमा आपराधिक उपद्रवको आरोपमा पक्राउ गरेको थियो। यो आरोपमा २९ जना अझै हिरासतमा छन्।
आयोजक समितिमा रहेका र प्रदर्शनको कमान्डर घोषित दुर्गा प्रसाँई भागेर भारत पुगेपछि प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर नियन्त्रणमा लिई नेपाल ल्याएको थियो।
आपराधिक उपद्रवमा समातिएका अधिकांश हाजिर जमानीमा छुटे पनि सङ्गठित अपराधमा समातिएका धवल बाहेक अन्य हिरासतमै छन्।
वैशाख २१, २०८२ आइतबार १३:५८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।