तीन नातिनातिनाकी हजुरआमा पनि परीक्षा हलमा

काठमाडौं : ७३ वर्षीया सूर्यावती खनाल चार सन्तानकी आमा र तीन नातिनातिनाकी हजुरआमा हुन्। उनै खनाल आज काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा रहेको एन्जल्स हार्ट सेकेन्डरी स्कुल परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षामा भेटिइन्।
शिक्षा उमेरले होइन, इच्छाशक्तिले निर्धारण गर्छ भन्ने कुरामा खनाल उदाहरण बनिन्। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत आजबाट शुरू भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुँदै खनाल देशकै सबैभन्दा जेठी परीक्षार्थी बनिन्।
खनाल हाल तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत छिन्। प्रवेशपत्र अनुसार उनको जन्म वि.सं. २००९ साउन ९ गते भएको हो। चार सन्तानकी आमा र तीन नातिनातिनाकी हजुरआमा उनी विगत केही वर्षदेखि औपचारिक शिक्षामा सक्रिय छिन्।
'छोराछोरी हुर्केपछि पढ्ने रहर भयो। त्यसपछि स्कुल भर्ना भएँ र नियमित पढ्न थालेँ,' उनले भनिन्। उनले एसइई गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट पास गरेकी थिइन्। खनालका श्रीमान शिक्षक हुन्, जसले उनको अध्ययन यात्रामा निरन्तर साथ दिइरहेका छन्।
देशभर आजदेखि शुरू भएको कक्षा १२ को पहिलो दिनको परीक्षा शान्तिपूर्ण ढंगले सम्पन्न भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए। देशभर एक हजार ५९० परीक्षा केन्द्र स्थापना गरिएको छ। परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ।
वैशाख २१, २०८२ आइतबार १३:१२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।