प्रतिकूल मौसमले उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ। लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’ का कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। बिहान ‘इन रुट वेदर’ का कारण अन्तर्राष्ट्रियतर्फ जजिरा एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान विमान डाइभर्ट भएको उनले बताए।
रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन्। वर्षा रोकिएसँगै काठमाडौँ विमानस्थलसहित काठमाडौँ बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले बताए। दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौँ–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको थियो।
काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो। अहिले काठमाडौँ आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ मा उल्लेख छ।
बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।
वैशाख २१, २०८२ आइतबार १२:३९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।