जानकी नवमीमा राष्ट्रिय बिदाको माग गर्दै जनकपुरमा दबाब र्‍याली

जानकी नवमीमा राष्ट्रिय बिदाको माग गर्दै जनकपुरमा दबाब र्‍याली

जनकपुर : जानकी नवमी राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै जनकपुरमा एक दबाब र्याली निकालिएको छ। 

शनिबार जानकी मन्दिर परिसरबाट शुरू भएको र्यालीमा साधु–सन्त, धर्मगुरु, विभिन्न धार्मिक संघसंस्था, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।

र्यालीमा सहभागीहरूले ‘जननी जानकीको अपमान किन ?’, ‘जानकी नवमीलाई राष्ट्रिय विदा घोषणा गर !’, ‘हाम्रो आस्था–हाम्रो अधिकार’, ‘जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ’ जस्ता नारा लगाएका थिए। उनीहरूले जानकी नवमीको अवसरमा वैशाख २३ गतेलाई राष्ट्रिय विदा घोषणा गर्न माग गर्दै सरकारलाई चेतावनी पनि दिए।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले र्यालीको नेतृत्व गर्दै संघीय सरकारको चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, ‘जानकीको जन्मोत्सव हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक अस्तित्वसँग प्रत्यक्ष जोडिएको पर्व हो । बुद्ध जयन्तीमा विदा हुन्छ । तर, जानकी नवमीमा किन हुँदैन? यो धार्मिक भेदभाव हो। आस्थाको अपमान हो।’

महन्थ दासले जानकी नवमीको महत्व मिथिला वा तराईको सीमामा मात्र नदेखी सम्पूर्ण भारत–नेपालको साझा सांस्कृतिक परम्परासँग जोडिएको उल्लेख गरे।

यसअघि वैशाख ७ गते साधु–सन्तहरूको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका थिए। उक्त ज्ञापनपत्रमा जानकी नवमीमा प्रत्येक वर्ष राष्ट्रिय विदा दिनुपर्ने र जनकपुरलाई राष्ट्रिय गौरवको सूचीमा राखिनुपर्ने माग गरिएको थियो। अहिलेसम्म सरकारबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

वैशाख २१, २०८२ आइतबार १०:३१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।