बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध

हेटौंडा : गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ।
वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दियो।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि आज बिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो।
अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले यात्रुलाई हेटौँडाबाट काठमाडौँ जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
वैशाख २१, २०८२ आइतबार ०८:१२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।