स्कटल्यान्ड सिरिज खेल्ने टिममा कुशल, देव र कमलसिंह नै अटाएनन्, २५ जनाको क्लोज क्याम्पमा नयाँ अनुहार भित्रिए

काठमाडौं : कुशल मल्ल, देव खनाल, उशान पाण्डे लगायतका २८ क्रिकेट खेलाडी आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्डमा हुने सिरिज खेल्ने टोलीमा अटाएनन्। क्रिकेट एसोसिएसन अफ नेपालले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको क्याम्पमा ५३ खेलाडीलाई राखेको थियो।
क्यानले शनिवार दोस्रो चरणको क्याम्प लिस्टमा परेका २५ खेलाडीको नाम सार्वजनिक गर्दा कुशल, देव, उशान पाण्डे, अर्जुन कुमाल, कमल सिंह ऐरी अटाएनन्।
टोलीमा रोहित पौडेलसँगै आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, अर्जुन साउद, बसीर अहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललित राजवंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतीस जिसी, रिजान ढकाल, आकाश चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंसकार रहेका छन्।
युवराज खत्री युवा स्पिनर हुन्। शुभ कंसकार, रुपेश कुमार सिंह, किरण ठगुन्ना र युवराज खत्री राष्ट्रिय टिमबाट पहिलो पटक खेल्दै छन्। नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्ने छन्।
यही जुनमा स्कटल्यान्ड र नेदरल्याण्डसँग स्कटल्यान्डमै नेपालले लिग टु को सिरिज खेल्नेछ। त्यसका लागि बेलायत जाने नेपाली टिमले एमसिसी सहित चार क्लब टोलीसँग खेल्नेछ भने स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल खेल्नेछ।
वैशाख २१, २०८२ आइतबार ००:४४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।