चाहेका कुराहरू समेटिए भन्दै कांग्रेसले सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने, पक्षमा बोल्ने

चाहेका कुराहरू समेटिए भन्दै कांग्रेसले सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने, पक्षमा बोल्ने

काठमाडौं : नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गर्यो। शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकले चाहेका कुराहरू समेटिएर आएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए।

बैठकले पार्टीका सांसदहरूलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न निर्देशन दिएको उनले बताए।

‘हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो। नीति तथा कार्यक्रममा धेरै कुराहरू समेटिएका छन्,’ उनले भने ‘हामीले चाहेका कुराहरू समेटिएर आएकाले यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावहरू सहित त्यसको पक्षमा बोल्ने र त्यसलाई समर्थन गर्ने भन्ने निर्णय भएको छ।’

उनले आगामी बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने हिसाबले बजेट तर्जुमा गरियोस् भन्न त्यससम्बन्धी पनि निर्णय गरिएको बताए।

विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात् गर्दै समिति र संसद्मा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले जानकारी दिए।

वैशाख २१, २०८२ आइतबार ००:१०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।