नागढुङ्गा-नौबिसे सडकखण्ड वैशाख २२ देखि राति बन्द हुने

काठमाडौं : नागढुङ्गा–नौबिसे सडक खण्ड वैशाख २२ गतेदेखि रातिको समयमा बन्द हुने भएको छ।
त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा-पिप्लामोड सडक खण्डको निर्माण तथा सुधार कार्य गर्नुपर्ने भएकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २२ देखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमन आंशिक रूपमा रोकिँदै सडक निर्माणको काम हुने जानकारी दिइएको छ।
यस अवधिमा काठमाडौँबाट बाहिरिने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा र काठमाडौँतर्फ आउने सवारी खत्रपौवा पुलमा रोकिनेछन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराले उक्त सूचनाबारे जानकारी दिँदै सडक सुधारको आवश्यकताअनुसार तयारी अघि बढाइएको बताए।
परियोजनाले वैकल्पिक मार्गको रूपमा सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक र सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ-छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।
रोकिएको समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा आफ्नो लेन अनुशासन कायम राख्न अनुरोध गरिएको छ। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई भने रोकिने छैन।
वैशाख २०, २०८२ शनिबार २०:१५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।