किशोर-किशोरीको डिजिटल सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

काठमाडौं : सामाजिक सञ्जाल एप टिकटकले किशोर-किशोरीको डिजिटल सुरक्षालाई ध्यानमा राख्दै नेपालमा ‘फ्यामिली पेयरिङ’ सेवा शुरू गरेको छ।
यस सुविधामार्फत अभिभावकहरूले आफ्ना छोराछोरीको टिकटक खाता आफ्नो खातासँग जोडेर उनीहरूको अनलाइन गतिविधि निगरानी तथा नियन्त्रण गर्न सक्नेछन्।
टिकटकका अनुसार, यस सेवाको उद्देश्य सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सिर्जना गर्नु हो। ‘फ्यामिली पेयरिङ’ले अभिभावकलाई स्क्रिन समय सीमित गर्न, सन्देश आदान–प्रदान तथा कमेन्ट गर्ने क्षमता बन्द गर्न, बालमैत्री सामग्री मात्र देखिने बनाउन, खाता खोज्न पाउने/नपाउने र सर्च सेटिङ नियन्त्रण गर्न जस्ता विशेषताहरू उपलब्ध गराउँछ।
यो सेवा प्रयोग गर्न ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गई क्यूआर कोड स्क्यान गरेर अभिभावक र किशोर प्रयोगकर्ताको खाता आपसमा लिंक गर्नुपर्ने हुन्छ। एकपटक लिंक भएपछि, अभिभावकहरूले छोराछोरीको मोबाइल नछोइकन आफ्नै फोनबाट सेटिङहरू व्यवस्थापन गर्न सक्नेछन्।
टिकटकका दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भने, ‘समाजको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो, विशेष गरी किशोर प्रयोगकर्ताको हकमा फ्यामिली पेयरिङ सुविधा नेपालका लागि उपयुक्त हुने अपेक्षा छ।’
वैशाख २०, २०८२ शनिबार १९:२९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।