कलम बन्दुकभन्दा बलियो हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कलम बन्दुकभन्दा बलियो हुने बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले ‘स्वतन्त्र प्रेस’ शब्द मात्र नभएर लोकतन्त्रको आत्मा भएको बताए।
उनले सत्य, न्याय र अभिव्यक्तिको पक्षमा कलम चलाउने सम्पूर्ण सञ्चारकर्मी, मिडिया संस्थाहरू तथा अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने प्रत्येक चेतनशील नागरिकप्रति सम्मानसहित शुभकामना व्यक्त गरेका छन्।
‘स्वतन्त्र प्रेस’ शब्द मात्र होइन, यो लोकतन्त्रको आत्मा हो-जहाँ सत्य बोल्ने अधिकार हुन्छ, त्यहाँ जनता सबल हुन्छन्, कलम बन्दुकभन्दा बलियो हुन्छ’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आवाजहरू नथुनिऊन्, कलमहरू नथाकून् र खबरहरू तथ्यको उज्यालो मार्गमा हिँडिरहून्।’
आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभर नै मनाइँदैछ। सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा-पत्र जारी गरेको थियो। योसँगै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन राखेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन शुरू भएको हो।
वैशाख २०, २०८२ शनिबार १८:२७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।