गणतन्त्र जोगाउन समाजवादी मोर्चा बनाएको नेपालको दाबी

गणतन्त्र जोगाउन समाजवादी मोर्चा बनाएको नेपालको दाबी

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजमा वर्गीय समस्या समस्या अझै रहेको बताएका छन्।

नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपालको जातीय समस्या, भेदभावको समस्या, असमानताको समस्या, पछौटेपनको समस्या हटाउँदै सिंगो मानव जाति एक हुनुपर्ने बताए।

‘अहिलेको नेपाली समाजमा दुई किसिमका समस्याहरू छन्। एउटा वर्गीय समस्या अर्को जातीय समस्या। हामी क्रान्तिकारी हामी कम्युनिष्टहरूले वर्गीय समस्यालाई, वर्गीय अन्तर विरोधलाई, वर्गीय शोषण र उत्पीडनलाई कसरी हल गर्ने भन्ने कुरामा पनि ध्यान पुर्याउँछौं।,’ उनले भने, ‘सँगसँगै जातिय उत्पीडनलाई, जातीय दमनलाई, जातीय भेदभावलाई पनि हामी उत्तिकै महत्व दिन्छौं। यी दुईटै समस्याले हाम्रो समाज ग्रस्त छ । नेपालको जातीय समस्या, भेदभावको समस्या, असमानताको समस्या, पछौंटेपनको समस्या हटाउनुपर्छ । सिंगो मानव जाति एक हुनुपर्दछ।’  

साथै उनले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताए। नेपालले वर्तमान राजनीतिक परिस्थितिमा राजावादी शक्तिहरू पुनः सक्रिय हुन खोजेको बताए।

‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टी आफ्नो तरिकाबाट भूमिका खेलिरहेको छ । अहिले राजावादी शक्तिहरूले टाउको उठाउन खोजेका छन् । झण्डै उनीहरू हावी होलान् की भन्ने भैइसक्या थियो,’ उनले भने, ‘त्यस्तो बेलामा हामीले समाजवादी मोर्चालाई अगाडि बढाएर चार वटा वामपन्थी पार्टीहरू एक ठाउँमा जम्मा भएर हामीले सोच्यौं राष्ट्रिय राजनीतिको एजेन्डा, यो संविधान जोगाउने एजेन्डा, यो गणतन्त्र बचाउने एजेन्डा।’

अध्यक्ष नेपालले प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थालाई अगाडि बढाउने स्पष्ट पारे। उनले पार्टी सानो वा कमजोर भएको मानसिकता त्याग्नुपर्नेमा जोड दिए। उनले अरूलाई सिध्याएर नभैइ, प्रतिस्पर्धामार्फत जनताको विश्वास जित्दै अगाडि बढ्ने बताउँदै पार्टीको भूमिकालाई अझ सशक्त बनाउन कार्यकर्ताहरूलाई सक्रिय रहन आग्रह गरे।

वैशाख २०, २०८२ शनिबार १७:५९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।