स्कार्पियोको पछाडिको सिटमा श्रोत नखुलेको ९ लाख भेटियो, तीन भारतीय पक्राउ

रौतहट : पर्सामा ९ लाख ५९ हजार श्रोत नखुलेको रकम सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
भारतबाट नेपाल प्रवेश गरिरहेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीमा लुकाइछिपाइ ल्याइएको ९ लाख ५९ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले पक्राउ गर्यो।
भारतको पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत वडा नं.७ निवासी ५९ वर्षीय विजय प्रसाद, जौकटिया ग्राम पंचायत वडा नं.१२ निवासी ४६ वर्षीय मनोज कुमार सहनी, र छाउनी चोक ग्राम पंचायत वडा नं.२७ निवासी ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी देवेन्द्रबहादुर सिंहले बताए।
वीरगन्ज भन्सार कार्यालको जाँच बिन्दुको सडक नजिकबाट उनीहरूलाई पक्राउ गरिएको सिंहले जानकारी दिए। उनीहरूलाई सवारी साधनको पछाडिको सिटमा रहेको पकेटभित्र लुकाइएको नगद रकमसहित नियन्त्रणमा लिएको डीएसपी सिंहले बताए।
बरामद नगदसहित तीन जना भारतीय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको र कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
वैशाख २०, २०८२ शनिबार १६:५०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।