एनआरएनएको एकता महाविधेशन शुरु, एक भएर अघि बढ्न परराष्ट्रमन्त्री राणाको सुझाव

काठमाडौं : गैरआवसिय नेपाली(एनआरएनए)को एकता महाधिवेशन काठमाडौंमा शुरु भएको छ। काठमाडौंमा शुरु भएको महाधिवेशनले एनआरएनएलाई नयाँ रुपमा लैजाने अपेक्षाका गरिएको छ।
सर्वोच्च अदालतको फैसला अनुसार पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिको पहलमा आजदेखि काठमाडौंमा एकता महाधिवेशन शुरु भएको हो।
एकता महाधिवेशन उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एनआरएन परिचयपत्र मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै एक भएर अघि बढ्न सुझाव दिइन्।
उनले सर्वोच्चमा अदालतको फैसला लगत्तै आफूले शेष घलेसँग छलफल गरेर महाधिवेशनको बारेमा कुरा गरेको र आज यो उद्घाटन गर्न पाउँदा खुशी लागेको बताइन्।
एनआरएनए को समन्वय गर्ने मन्त्रालयको रुपमा आफू एकता महाधिवेशनमा उपस्थित भएको भन्दै मन्त्री राणाले आगामी दिनमा सबै गैरआवासिय नेपालीहरू एक भएर अघि बढ्न पनि सुझाव दिइन्।
उनले अब एनआरएनएमा विवाद भन्दा साझा संस्थाको रुपमा अघि बढ्ने आफूले विश्वास लिएको बताइन्। कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एनआरएनए जस्ता संस्थाहरूमा विवाद भन्दा एक भएर जान र उनीहरूसँग भएको पुँजी तथा सिमलाई नेपालमा प्रयोग गर्न आग्रह गरे।
उनले एनआरएनएहरूलाई नेपालमा लगानी गर्न कानुन झन्झट भएको गुनासो आएको तर यसमा सरकारले पहल गर्ने र आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भारत र चीनमा जसरी एनआरएनएले लगानी गरेर देश विकास शुरुवात गरे नेपालले पनि यसवाट सिक्नुपर्ने पनि बताए।
कार्यक्रमका सभापति शेष घलेले एकता महाधिवेशनमा आएका आरोह अवरोधलाई सम्बोधन गर्दै अब एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए।
उनले आफूहरूको समय र अहिलेको समय फरक भएकाले अब युवाहरू नेतृत्वमा आकर्षित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सबैले ध्यान दिने सुझाव दिए। घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए।
तीन दिनसम्म चल्ने अधिवेशनमा आइतबार निर्वाचन मार्फत नयाँ प्रतिनिधि छानिँदैछ। सोमबार कार्यक्रम समापन हुनेछ।
वैशाख २०, २०८२ शनिबार १६:३४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।