प्रधानमन्त्रीले सांसदहरूलाई भने- विपक्षीले विरोधका लागि विरोध गर्छन्, नीति तथा कार्यक्रम सही छन्, ढुक्कले समर्थन गरौं

प्रधानमन्त्रीले सांसदहरूलाई भने- विपक्षीले विरोधका लागि विरोध गर्छन्, नीति तथा कार्यक्रम सही छन्, ढुक्कले समर्थन गरौं

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि लक्षित रहेको भन्दै आफ्नो दलका सांसदहरूलाई ढुक्क भई समर्थन गर्न निर्देशन दिएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले स्थिर सरकार, राजनीतिक स्पष्टता र सुशासन कायम गर्दै आर्थिक विकासलाई तीव्र बनाउने सरकारको योजनाबारे जानकारी दिए।

‘हाम्रा नीतिहरू सही छन्, यसमा साथीहरू ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नुपर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ ।’, प्रधानमन्त्री ओलीले भने। ‘हाम्रो दलमा वैचारिक एकता छ । स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारी रूपमा प्रकट गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्रीले सरकार पछाडि पारिएका समूहहरूको उत्थानका लागि प्रतिबद्ध रहेको र नीति तथा कार्यक्रम समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य गर्ने, शान्ति सुव्यवस्था प्रतिको जिम्मेवारीबोध र जनताप्रति जवाफदेही हुने गरी तयार गरिएको बताएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले विकासको लाभबाट बञ्चित समुदायहरूको पहुँच सुनिश्चित गर्न स्पष्ट दृष्टिकोणसहित काम गरिरहेको छ। साथै, राष्ट्रिय तथा मानवीय हितलाई केन्द्रमा राख्दै छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गरिएको पनि उनले उल्लेख गरे।

बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं पार्टी उपमहासचिव विष्णुप्रसाद रिमाल तथा आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले नीति तथा कार्यक्रम, आर्थिक सम्भावना र समसामयिक राजनीतिक चुनौतीबारे सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

वैशाख २०, २०८२ शनिबार १५:२३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।