जग्गा विवादमा देउरानीको कोदालो प्रहारबाट जेठानीको मृत्यु

जग्गा विवादमा देउरानीको कोदालो प्रहारबाट जेठानीको मृत्यु

मुगु : मुगुमा देउरानीको कोदालो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा मंगलबार जग्गा विवादमा झगडा हुँदा देउरानीको कोदालो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भयो। 

गम्भीर घाइते भएकी दुर्गा ऐडीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा ५ दिनपछि शनिबार बिहान मृत्यु भएको हो।

देउरानीले जेठानीलाई घरेलु औजार कोदालो प्रहार गर्दा गम्भीर घाइते बनाएकी थिइन्। घाइते दुर्गा ऐडीको टाउँको र अनुहारमा गहिरो चोट लागेको थियो। 

छायानाथ रारा नगरपालिका १२ लुम्स गाउँकी बिमला बुढाले जेठानी दुर्गा ऐडीको टाउकोमा कोदालो प्रयोग गरी घाइते बनाएको प्रहरीले जनाएको छ। 

उनीहरूका ससुरा बाचुराम ऐडीका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा ३ भाइ मध्ये कसैलाई भागबन्डा नगरिएको र त्यही जग्गा देउरानीले मेरो भाग हुनुपर्छ र जेठानीले मेरो भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको थियो।

त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी बिमला बुढाले जेठानी दुर्गा ऐडीलाई कोदालो प्रहार गरेर घाइते बनाएको ससुरा बाचुरामले बताए।

झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

अहिले घरेलु औजार प्रयोग गरी घाइते बनाउने बिमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ।

वैशाख २०, २०८२ शनिबार १४:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।