गोल्ड मेडलिष्ट डा. प्रतिमाको उपचार अनुभव : अप्ठेरो पर्यो कि फोन हानिहाल्ने ती भारतीय बिरामीसँगको भावनात्मक सम्बन्ध

गोल्ड मेडलिष्ट डा. प्रतिमाको उपचार अनुभव : अप्ठेरो पर्यो कि फोन हानिहाल्ने ती भारतीय बिरामीसँगको भावनात्मक सम्बन्ध

डा. प्रतिमा पौडेल आयुर्वेद चिकित्सक हुन्। आयुर्वेद पद्धति अपनाएर व्यक्तिलाई रोगै लाग्न नदिनु तथा रोग लागि हालेको खण्डमा आयुर्वेद विधि अपनाएर औषधि उपचार गरेर बिरामीलाई सञ्चो बनाउनु उनको दैनिकी हो। अध्ययनमा अब्बल उनै डा. प्रतिमाले आयुर्वेद चिकित्सकका रूपमा देखे-भोगेका अनुभव उकेरासँग साटेकी छन्।

ती भारतीय बिरामीसँगको भावनात्मक सम्बन्ध
आयुर्वेद उपचारात्मक विधि अपनाउन कोही हिचकिचाउने त कसैले भने अति विश्वास गर्ने गरेको डा. प्रतिमाले अनुभव सुनाइन्। तर, आयुर्वेद उपचारात्मक विधिमा धेरै सबल पक्ष भएको उनले बताइन्। आयुर्वेदमा विश्वास गरेर बिरामी कृतज्ञ भएको यस्तै एउटा अनुभव उनले सुनाइन्।

भारतमा शालक्य तन्त्रको एमएस अध्ययनका क्रममा करिब तीन वर्षअघि एक जना महिला बिरामी उपचारका लागि पुगेको प्रसंग डा. प्रतिमा कहिल्यै भुल्दिनन्।

करिब ४३ वर्षकी महिला भारतको जयपुरस्थित राष्ट्रिय आयुर्वेद संस्थानमा (अस्पताल) पुगिन्। ती महिलाका दुवै आँखा सुक्खा हुने एक किसिमको रोग (अटो इम्युन डिजिज)ले समस्यामा परेकी थिइन्। विभिन्न अस्पतालमा पुगेर उपचार गर्दा पनि पूर्ण रूपमा ठीक नभएर ती महिला तनावमा परेकी रहिछन्। आँखाको समस्याले दुःख पाइरहेकी ती महिलालाई अस्पताल भर्ना गरियो। अनि आयुर्वेद चिकित्सकीय विधि अपनाएर ती महिलाको आँखाको उपचार थालियो।

ती महिलाको आँखा सञ्चो बनाउनका लागि आयुर्वेदको पञ्चकर्मलगायतका थेरापी विधि अपनाइयो। आवश्यक औषधि उपचार भयो। ती महिलाको आँखाको थेरापी र औषधि उपचारका लागि डा. प्रतिमा खटिइन्। एक महिना अस्पतालमा औषधि उपचार गर्दा ती बिरामी महिलासँग उनको डाक्टर र बिरामीको मात्रै हैन, पारिवारिक सदस्य जस्तै भावनात्मक सम्बन्ध जोडियो। यत्तिसम्म कि डा. प्रतिमालाई नसोधी ती महिला औषधि नै नखाने भइन्।

उपचारपछि ती महिलाको आँखाको समस्या कम हुँदै गयो। तर, उनको आँखाको त्यो समस्या पूर्ण रूपमा ठीक हुने किसिमको भने थिएन। तर, औषधि उपचारपछि धेरै हदसम्म समस्या ठीक भयो। अनि करिब एक महिनाको औषधि उपचारपछि ती महिला अस्पतालबाट डिस्चार्ज भइन्। अस्पतालबाट डिस्चार्ज हुँदा ती महिलाले डा. प्रतिमाको फोन नम्बर लिइन्।

फोन सम्पर्क: कहिले नटुट्ने सम्बन्ध
पछि डा. प्रतिमा एमएस अध्ययन सकेर नेपाल फर्किइन्। नेपाल फर्किएपछि पनि ती भारतीय महिलाले उनलाई फोन गर्न छाडिनन्। एक पटक उनको मोबाइल हराएर पुरानो नम्बर हरायो। तर, ती भारतीय बिरामी महिलाले डा. प्रतिमाको नेपालको नम्बर पत्ता लगाएर फोन गरिन्। कुनै स्वास्थ्य समस्या भयो भने ती महिलाले उनलाई सल्लाह लिँदिरहिछन्।

अहिले पनि बेला-बेलामा आफूले भारतमा एमएस अध्ययनका क्रममा उपचार गरेकी ती महिलाले फोन गर्ने गरेको उनले सुनाइन्। कुनै स्वास्थ्य समस्या भयो की ती महिलाले आफूलाई फोन हानिहाल्ने गरेको उनले सुनाइन्।

‘अहिले पनि फोन गरिरहनुहुन्छ, फोन उठेन भने लगातार ६/७ पटक फोन गर्ने मान्छे उहाँ नै हो’, डा. प्रतिमाले रमाइलो मान्दै हाँसेर भनिन्।

अहिले भने ती महिलाको आँखा सामान्य अवस्थामा नै रहेको जानकारी पाएको डा. प्रतिमाले सुनाइन्। यसरी बिरामीले सम्झँदा साह्रै आनन्द महसुस हुने उनले अनुभव सुनाइन्।

रेटिनाको समस्या भएका ती ५२ वर्षका पुरुषको उपचार
त्यसैगरी एमडी अध्ययनकै क्रममा आँखाकै उपचार गरेको अर्को प्रसङ्ग पनि डा. प्रतिमा कहिल्यै भुल्दिनन्। आँखाको देब्रे रेटिनामा समस्या भएका एक जना पुरुषलाई पनि पञ्चकर्म थेरापी लगायतको औषधि उपचारपछि दृष्टिमा सुधार भएको उनले सुनाइन्।

त्यसैगरी केही महिना अघिमात्रै करिब ५२ वर्षका पुरुषको औषधि उपचार गरेको प्रसङ्ग पनि डा. प्रतिमा सम्झन्छिन्। केही महिनाअघि आँखामा समस्या भएका ती पुरुष नरदेवीस्थित आयुर्वेद चिकित्सालय पुगे। ती पुरुषको दायाँ आँखामा जलविन्दूको समस्या हुँदा आँखाको नसा नै मर्दै गएको अवस्थामा थियो। ती पुरुषको आँखा भारी हुने, टाउको दुख्ने, हेर्न कठिन हुने जस्ता समस्या थिए।

ती पुरुष विभिन्न अस्पतालमा पुग्दा पनि पूर्ण रूपमा ठीक नभएपछि एक पटक आयुर्वेद अस्पताल पनि गइहेरौँ न त भनेर गएका रहेछन्। ती पुरुषलाई नरदेवीमा नाकको ‘नस्य’ र आँखाको थेरापी गरियो। आवश्यक औषधि उपचार गरियो। त्यसपछि बिस्तारै आँखाको समस्या कम भएको उनले सुनाइन्।

अहिले पनि ती पुरुष फलोअपमा नै रहेको उनले सुनाइन्। ती पुरुषको आँखाको नसा नै मरिसकेकाले सामान्य सुधारको अवस्थामा रहेको डा. प्रतिमाले सुनाइन्। ती पुरुषले अस्पतालमा फलोअपमा आउँदा ओपिडीमा राख्ने चार्ट लगायत उपहार पनि ल्याइदिने गरेको उनले सुनाइन्।

भरतपुरमा जन्म, बीएएमएसमा गोल्ड मेडल
२०५३ सालमा चितवनको भरतपुरमा जन्मिएकी प्रतिमाले स्थानीय होलिभिजन पब्लिक स्कुलबाट २०६७ सालमा एसएलसी गरिन्। चितवन साइन्स कलेज, भरतपुरबाटै उनले प्लसटु गरिन्। उनका दाजु पनि आयुर्वेद चिकित्सक नै हुन्। त्यसैले बहिनीलाई पनि उनले आयुर्वेदिक चिकित्सातर्फ नै प्रेरित गरे।

उनी स्वयं पनि यो चिकित्सकीय विद्या असाध्यै मन पराउँथिन्। त्यसैले अध्ययनमा अब्बल प्रतिमाले आयुर्वेद डाक्टर नै पढ्ने निर्णय गरिन् र तयारी थालिन्। उनले छनोट परीक्षा दिइन् र भारत सरकारको छात्रवृत्ति कोटामा बीएएमएस अध्ययनका लागि छनोट भइन्।

प्रतिमा भारतको कर्नाटक राज्यको उडुपी जिल्लामा पुगिन्। राजीवगान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स अन्तर्गतको श्री धर्मस्थल मञ्जुनाथेश्वर कलेज अफ आयुर्वेदामा भर्ना भइन्। अध्ययनमा अब्बल प्रतिमाले कलेजमा बीएएमएसको त्यो ब्याचमा टप गरेर गोल्ड मेडल पाउन सफल भइन्। अनि विश्वविद्यालयबाट पनि पुरस्कृत भइन्।

त्यति मात्र हैन, उनी बीएएमएस अध्ययनकै क्रममा त्यहाँ आयुर्वेदसम्बन्धी एउटा राष्ट्रव्यापी हाजिरी जवाफ प्रतियोगिता भएको थियो। त्यो प्रतियोगिता पनि उनले जितिन्। यसरी साढे पाँच वर्ष बीएएमएस अध्ययन गर्दा उनका हातमा सफलता नै सफलता आए। सन् २०२० मा बीएएमएस अध्ययन सकेर प्रतिमा नेपाल फर्किइन्।

त्यतिबेला कोरोना भाइरस संक्रमणले उग्र रूप लिइरहेकाले लकडाउनको अवस्था थियो। त्यसैले अध्ययन सके पनि केही महिना भारतमै अड्किइन्। नेपाल फर्किएपछि केही समय उनले विभिन्न निजी आयुर्वेद स्वास्थ्य संस्थामा काम गरिन्।

एमएसमा पनि गोल्ड मेडल
डा. प्रतिमालाई थप अध्ययन गर्नु थियो। उनलाई भारतमै गएर पढ्ने मन थियो। उनले आयुर्वेद चिकित्साको स्नातकोत्तर तह अध्ययनका लागि छनोट परीक्षा दिइन्। अनि छात्रवृत्ति कोटामा अध्ययन गर्ने अवसर पनि पाइन्।

सन् २०२१ मा भारतको जयपुरस्थित राष्ट्रिय आयुर्वेद संस्थानमा पुगेर आयुर्वेदको स्नातकोत्तर तह ‘शालक्य तन्त्र’ विषयमा ‘एमएस’ अध्ययनका लागि उनी भर्ना भइन्। आयुर्वेदको आठ अंगमध्ये शालक्य तन्त्र एउटा विषय हो। आयुर्वेदमा घाँटीभन्दा माथिको भागमा पर्ने मुख स्वास्थ्य, इएनटी (नाक, कान, घाँटी), नेत्ररोग जस्ता विषय शालक्य तन्त्र अन्तर्गत पर्छन्। उनले यही विषयमा छात्रवृत्ति कोटामा तीन वर्षे एमएस अध्ययन गरिन्।

एमएस अध्ययनमा पनि उनी आफ्नो ब्याचमा टप भइन् र कलेजबाट गोल्ड मेडलिस्ट बनिन्। एमएस अध्ययन सकेर उनी सन् २०२४ मा नेपाल फर्किइन्।

एउटै सिट : सरकारी स्थायी जागिर हात पार्ने
नेपाल फर्किएपछि डा. प्रतिमाले केही महिना हिमालयन आयुर्वेद मेडिकल साइन्स कलेजमा ‘प्रिन्सिपल’का रूपमा काम गरिन्। त्यससँगै काभ्रेको धुलिखेलस्थित पतञ्जली आयुर्वेद कलेजमा पनि सहायक प्राध्यापक भएर ‘पार्टटाइमर’का रूपमा केही महिना काम गरिन्।

डा. प्रतिमालाई सरकारी जागिर खाने ठूलो रहर थियो। त्यसैले उनले कामसँगै सरकारी जागिरका लागि पनि तयारी गरिरहिन्। नभन्दै प्रतिमाले सफलता हात पारिन् र सरकारी सेवामा प्रवेश गरिन्। भारतबाट एमएस सकेर फर्किएको केही महिनामै डा. प्रतिमाले लोकसेवा परीक्षामार्फत २०८१ सालमा आयुर्वेद चिकित्सकका रूपमा आठौँ तहको सरकारी स्थायी जागिर हात पारिन्।

त्यो बेला आठौँ तहको आयुर्वेदिक चिकित्सकका लागि एउटा मात्रै सिटमा सरकारी जागिर खुल्यो। उनले परीक्षा दिइन्। अनि त्यो सिट उनैले हात पारिन्। लोकसेवा परीक्षामार्फत २०८१ कात्तिकमा आठौँ तहको सरकारी स्थायी जागिरेका रूपमा पहिलो पोष्टिङ पाउँदा उनी काठमाडौंको नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा खटिइन्। हालसम्म उनी नरदेवीमै आयुर्वेद चिकित्सकका रूपमा कार्यरत छन्।

घाँटीभन्दा माथिको भागमा पर्ने नाक, कान, घाँटी, नेत्ररोग जस्ता समस्या भएका बिरामीको आयुर्वेदिक विधि अपनाई औषधि उपचार तथा शल्यक्रिया गर्नु डा. प्रतिमाको दैनिकी हो।

वैशाख २०, २०८२ शनिबार १३:४३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।