नयाँ फिल्म, पुरानै धुन : नेपाली सिनेमाको ‘नोस्टाल्जिक’ यात्रा

गीतले दर्शकलाई हलसम्म तान्ने महत्वपूर्ण भूमिका खेल्छन्। गीतको शब्द र लयले स्रोता-दर्शकको मन जित्यो भने फिल्मको सफलताको सम्भावना पनि बढ्छ। उदाहरणका लागि, फिल्म ‘बोक्सीको घर’मा समावेश गीत ‘बुझिन मैले बुझाइदेउ कसैले’ निकै लोकप्रिय भयो। जसले दर्शकलाई हलसम्म पुर्यायो, फलस्वरूप फिल्मले १० करोड २ लाखको कलेक्सन गर्यो।
फिल्म ‘खुस्मा’मा समावेश ‘रुकुमै कोट’ बोलको गीतका कारण पनि फिल्मले बक्स अफिसमा राम्रै व्यापार गर्यो। यसले चार करोडभन्दा बढीको कलेसक्सन गरेको चलचित्र विकास बोर्डले जारी गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ।
नेपाली फिल्म उद्योगमा पुराना गीतलाई रि-रेकर्ड गर्ने चलन बढ्दो छ। यसले पुराना सिर्जनालाई जीवित राख्ने र नयाँ पुस्तासँग जोड्ने प्रयास गरेको छ। तर, यस्ता गीतले पुरानो जस्तो प्रभाव र चर्चा कमाउने गरेको भने कमै देखिन्छ।
गीतमार्फत फिल्मको प्रवर्द्धन हुने भएकाले निर्माण पक्षले गीतमा राम्रो लगानी गर्छ। तर, पुराना चलेका गीतलाई रि-रेकर्ड गरेर नयाँ फिल्ममा राख्दा भने स्रोताको सोचे अनुसार रुचाइएको पाइँदैन। पछिल्लो समय पुराना गीतलाई रि-रेकर्ड गर्ने चलन बढ्दो छ, जसले पुराना सिर्जनालाई सम्मान गर्दै नयाँ पुस्तासँग जोड्ने प्रयास गर्छ। तर, यस्ता गीतले दर्शकमा पुरानै बेलाको जस्तो जोश र प्रभाव भने देखाउन सकेको देखिँदैन।
पुराना गीतको रि-रेकर्डिङको चलन
लगभग तीन दशकअघि फिल्म ‘दैव संजोग’को ‘अच्छा लेकिन लण्डनको चिसो समाउला’ गीत निकै लोकप्रिय थियो। मेलापात, हटिया बजारदेखि तिहारको नाचसम्म यो गीत सर्वत्र गुञ्जिन्थ्यो। लाहुरेहरूले क्यासेटमा यो गीत बजाउँथे। अहिले २८ वर्षपछि सोही गीतका गायक तथा संगीतकार शम्भुजित बास्कोटाले फिल्म ‘नरसिंहा: अवतार’मा यो गीतलाई रि-रेकर्ड गरेर समावेश गरे।
नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा यो गीत डिजिटल फर्म्याटमा ल्याइयो। तर, यो गीतले नयाँ पुस्ताका दर्शकमाझ पुरानै उत्साह भने जगाउन सकेन। बास्कोटा आफैँले पुरानो गीतलाई नयाँ पुस्तामा स्थानान्तरण गर्ने यो चलन विश्वव्यापी भएको बताउँछन्। उनले सामाजिक सञ्जालको प्रतिक्रियालाई स्वीकार गर्दै गीत रेकर्ड गर्नुको उद्देश्य फिल्मको प्रवर्द्धन भएको स्पष्टै खुलाए।
‘पुरानो गीतलाई नयाँ बनाएर गाएपछि क्रियसन त देखिएन नि?’ भन्ने प्रश्नमा पुरानो र नयाँ गीत भनेर तुलना नहुने दाबी गरे। उनले भने, ‘पहिला गाइएको गीत हो। फेरि गाइयो ठिकै छ। तुलना भन्ने कुरा त्यति हुँदैन। गीत आयो, बज्यो, सकियो।’
२८ वर्षअघिको फिल्म ‘अल्लारे’को गीत ‘रातो टीका निधारमा’ लाई सात वर्षअघि नयाँ शैलीमा रि-रेकर्ड गरी फिल्म ‘रातो टीका निधारमा’मा समावेश गरियो। आफ्नो छोरालाई हिरो बनाएको फिल्ममा निर्देशक अशोक शर्माले यो गीत समावेश गरे।
तर, दर्शकले यो गीतलाई नयाँ गीतको जस्तो उत्साहका साथ आत्मसाथ गरेनन्। यो गीतले चाडपर्व र रेडियो-टेलिभिजनमा पहिले जसरी चर्चा कमाउन सकेन। यति मात्र हाेइन, फिल्मको प्रवर्द्धनका लागि बनाइएकाे यो गीतले दर्शकलाई हलसम्म तान्न सकेन।
निर्देशक शर्मा पुराना गीतलाई नयाँ प्रविधिमा रि-रेकर्ड गर्दा राम्रो हुने र नयाँ पुस्तालाई पुराना गीतप्रति आकर्षित गर्न सकिने बताउँछन्। यसले पुराना स्रोतालाई नोस्टाल्जिक फिल गराउने र नयाँसँग सम्बन्ध जोड्ने उनको दाबी छ।
‘त्यही लयमा गीतको निर्माण गर्दा राम्रो हुनेरैछ। नयाँ पुस्तालाई पुराना गीतहरूप्रति आकर्षित गर्न सकिँदो रहेछ। राम्रै भएको छ। यसको नकारात्मक पक्ष खासै छैन’, उनको दाबी थियो।
त्यसैगरी फिल्म ‘यात्रा: अ म्यूजिकल भ्लग’मा ‘आफ्नो मान्छे’ फिल्मको चर्चित गीत ‘चट्ट रुमाल’ लाई रि-रेकर्ड गरी समावेश गरियो। संगीतकार शम्भुजित बास्कोटाकै संगीतमा नयाँ गायक-गायिका धर्मेन्द्र सेवान र मेलिना राईको स्वरमा यो गीत ल्याइयो। तर, दर्शकले यसलाई खासै रुचाएनन्।
फिल्म ‘पर्खी बसे तिमीलाई’मा पनि ‘बादल पारी’ फिल्मको ‘कालो चस्मा लाउ है मैयाँ विशाल बजारको’ लाई रि-रेकर्ड गरियो। पुरानो गीत उदित नारायण झा र दीपा झाको स्वरमा हिट थियो, तर, नयाँ संस्करणमा प्रमोद खरेल र मिलन नेवारको स्वरले दर्शकको ध्यान खासै तानेन। फिल्म र गीत दुवैले चर्चा कमाएनन्।
‘द ब्रेक अप’ मा समावेश गीत ‘आज हाम्रो भेट भाको दिन’ ‘ज्वाला’ फिल्ममा समावेश गीत थियो। पुरानो गीतमा आशा भोस्ले र उदित नारायण झाको स्वर थियो भने नयाँलाई विराज गौतम र मेलिना राईले गाए। यो गीतले पनि खासै प्रभाव पार्न सकेन।
पुराना गीतलाई रि-रेकर्ड गर्दा पनि फिल्मले खासै चर्चा पाउन नसक्दा पनि निर्माता तथा निर्देशक अझै त्यही प्रयोगमा रमाइरहेका छन्। अझै पनि केही फिल्ममा पुराना गीतको रि-रेकर्ड देखिँदैछन्। फिल्म ‘राजा साहेब’मा पुरानो फिल्म ‘गाउँले’को गीत ‘गोली सिसा’ लाई रि-रेकर्ड गर्ने योजना बनाइएको छ। यद्यपि यो अहिलेसम्म भएको छैन।
‘कृ’को गीतले निम्त्याएको विवाद
पुराना गीत रि-रेकर्ड गर्दा कहिलेकाहीँ विवाद पनि निम्तिन्छ। उदाहरणका लागि, फिल्म ‘कृ’ मा ‘सम्झना’ फिल्मको गीत ‘उकालीमा अघि अघि’ लाई बिना अनुमति राखिएको भन्दै फिल्म ‘सम्झना’का निर्माता तथा निर्देशक शम्भु प्रधानले ‘कृ’का निर्माताद्वय भुवन केसी र सुवास गिरीविरुद्ध प्रहरीमा उजुरी दिए।
उनीहरूबीच त्यस बेलाका डिएसपी मोहन थापाले उजुरी दर्ता नै नगरी दुवै पक्षलाई कार्यालयमा बोलाएर मिलाउने प्रयास गरेका थिए। यो गीतलाई शब्द/संगीत रञ्जित गजमेरले गरेका छन् भने स्वर उदित नारायण झा र दीपाझाको छ। रिमेक म्युजिकमा अल्मोडा राना उप्रेतिको राखिएको थियो। यसैगरी रिमेक लिरिक्समा अल्मोडा र सविन एकतारेको नाम छ। अहिले यो गीतको भिडियो हाइलाइटस् म्युजिकमा भेटिँदैन।
फिल्मको प्रवर्द्धनमा फाइदा
निर्माता तथा कलाकार रविन्द्र सिंह बनियाँका अनुसार, यो चलन नेपालमा मात्र होइन, बलिउडमा पनि छ। गीत फिल्मको प्रवर्द्धनको प्रमुख माध्यम भएकाले यस्ता पुराना गीत राख्दा फाइदा र जोखिम दुवै हुने उनको बुझाइ छ।
उनले भने, ‘पुराना गीत राख्दा फाइदा र जोखिम दुवै हुन्छ। पुराना गीतसँग स्रोताको भावनात्मक सम्बन्ध हुन्छ, जसले तुलना निम्त्याउँछ। नयाँ पुस्तालाई यस्ता गीतले आकर्षित गर्न सक्छ, तर पुराना स्रोतालाई भने नयाँ संस्करणले सन्तुष्ट नपार्न सक्छ।’
पुराना गीतलाई नयाँ बनाउँदा बाजा र शैलीमा आएको परिवर्तनले कहिलेकाहीँ गीतको मूल भाव नै हराउने गरेको उनको बुझाइ छ।
प्रविधिको विकासले गीतको गुणस्तर सुधारिएको भए पनि स्रोताको भावनात्मक सम्बन्ध र अपेक्षा पुरानो संस्करणसँगै जोडिएको हुन्छ। पुराना गीतको रि-रेकर्डिङ गर्दा सिर्जनात्मकता र मौलिक पक्ष भुल्न नहुनेमा उनको सुझाव छ।
वैशाख २०, २०८२ शनिबार १२:५७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।