असार २७ मा प्रदर्शन हुँदै फिल्म ‘यो मन त मेरो नेपाली हो’

असार २७ मा प्रदर्शन हुँदै फिल्म ‘यो मन त मेरो नेपाली हो’

काठमाडौं : एक वर्षअघि निर्माण गरिएको ‘यो मन त मेरो नेपाली हो’ नामक फिल्मको प्रदर्शन मिति तय भएको छ। फिल्मका निर्माता ज्ञानबहादुर प्रधान (रोशन) ले यो फिल्म आगामी असार २७ गते प्रदर्शनमा आउने जानकारी दिएका छन्।

अमेरिकामा बसोबास गरिरहेका साहित्यकार नर प्रधान (मित्र)द्वारा लिखित कथा र निर्देशनमा बनेको यो फिल्मलाई अभिनेता तथा निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन्।

पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको संयुक्त प्रस्तुतिमा बनेको फिल्मले विदेशमा रहेका नेपालीहरूको जीवन, भावना र संघर्षलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षको भनाइ छ।

फिल्मले नेपाली भाषा, साहित्य, कला, इतिहास र पहिचान जस्ता विषयहरूलाई उजागर गर्दै ‘नेपाली को हुन्?’ भन्ने गहिरो प्रश्न उठाउने उद्देश्य लिएको छ। निर्माण पक्षका अनुसार, यो फिल्मले नेपाली भाषाप्रतिको गौरव र महत्वलाई पुनः स्मरण गराउनेछ।

शिवम् अधिकारी को पटकथा रहेको फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशी लगायतको अभिनय समावेश छ।

लेखक अधिकारीका अनुसार, विश्वभर बसोबास गरिरहेका नेपालीहरूले आफ्नो भाषा, संस्कृति र मौलिकता बिर्सँदै गइरहेको समयमा यो फिल्मले नेपालीपनको अनुभूति दिलाउनेछ। अंग्रेजी भाषालाई अत्यधिक प्राथमिकता दिने प्रवृत्तिलाई चुनौती दिँदै फिल्मले नेपाली भाषाको गहिरो सन्देश दिने विश्वास गरिएको छ।

फिल्ममा दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राई को संगीत, सौरभ लामा को छायांकन, बनिश शाह को सम्पादन, देव महर्जन को द्वन्द्व निर्देशन, रेनिश फागो को कलर ग्रेडिङ, र कविराज गहतराज तथा प्रमोद भण्डारी को नृत्य निर्देशन रहेको छ।

‘यो मन त मेरो नेपाली हो’ को छायांकन नेपाल, अमेरिका लगायत विभिन्न देशहरूमा गरिएको हो।

वैशाख २०, २०८२ शनिबार ११:०२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।