‘भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता बने प्रोशेस पाण्डे

काठमाडौं : चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को छैठौं सिजनमा प्रोशेस पाण्डे विजेता बनेका छन्। शुक्रबार प्रसारित ग्रान्ड फिनालेमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै उनी खेम सेञ्चुरीको टिमबाट विजयी भएका हुन्।
पाण्डेले ‘भ्वाइस अफ नेपाल’ को तर्फबाट नगद २० लाख रुपैयाँ, क्लोजअप ब्रान्डबाट १ लाख रुपैयाँ र लेट मी इनको तर्फबाट थप १ लाख रुपैयाँ गरी कुल २२ लाख रुपैयाँसहित विजेताको ट्रफी प्राप्त गरे।
अन्य फाइनलिस्टमध्ये, टीम मेलिना राईबाट रोशन राई फर्स्ट रनरअप बने, राजु लामाको टिमबाट प्रमेश राई सेकेन्ड रनरअप घोषित भए भने टीम उदय सोताङबाट अर्पणा आचार्य थर्ड रनरअप बनिन्।
विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललगायत अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए।
हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुने यस गायन रियालिटी शोमा, डिजिटल अडिसनमा करिब ४० हजार आवेदन परेका थिए।
तीमध्ये २ हजार प्रतियोगी फिजिकल अडिसनमा सहभागी भएका थिए। अन्ततः १२० जना प्रतियोगी ब्लाइन्ड अडिसनमा छनोट भए, जसबाट ६४ जनाले ब्याटल राउन्डमा प्रतिस्पर्धा गरेका थिए।
वैशाख २०, २०८२ शनिबार ०९:१२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।