प्रिशाको पाेस्टमार्टम आज गरिँदै, मृत्युकै दिन तीन बजे भएको थियो परिवारसँग कुराकानी

एजेन्सी : भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा मृत भेटिएकी प्रथम वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको पोस्टमार्टम आज गरिने भएको छ।
शाहको पोस्टमार्टमा आज भुवनेश्वरमै गरिने भएको हो। उनको शव अहिले भुवनेश्वरको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा राखिएको छ।
शुक्रबार विहान मृतक विद्यार्थीका परिवारका सदस्यहरूले शहर आइपुगेपछि शव पहिचान गरेका थिए। स्थानीय प्रहरीले विद्यार्थीको मृत्युबारे अनुसन्धान गरिरहेको छ।
शुक्रबार भुवनेश्वर पुगेका प्रिशाका परिवारले छोरीसँग अन्तिमपटक बिहीबार दिउँसो तीन बजे कुराकानी भएको बताएका छन्। कुराकानीमा उनी सामान्य नै रहेको प्रिशाका अभिभावकले बताएका छन्।
ती अभिभावकले भने, ‘हामीले उनीसँग दिउँसो ३ कुरा गरेका थियौं। सबै ठिक लागिरहेको थियो र केही समय गफ गर्यौँ। तर बेलुका ८ बजे हामीले उनको मृत्युको खबर पायौँ।’
फोन गर्ने व्यक्तिले छोरीको निधन भएको र तुरुन्त भुवनेश्वर आउन भनेको भुवनेश्वर आइपुगेका परिवारका सदस्यहरूले बताएको ओडिसा टिभीले उल्लेख गरेको छ।
न्याय र सुरक्षाको लागि आह्वान
यसैबीच भारतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्ने संस्था अखिल भारतीय नेपाली एकता समाज समितिले दु:खद् घटनाको बारेमा न्यायको लागि अपील गरेको छ।
समितिकी सदस्य समेत रहेकी नेपाली विद्यार्थी कौशल्या परियारले भनिन्, ‘जे भइरहेको छ त्यो ठीक छैन। चाहे त्यो केटी होस् वा केटा। लन्डन, ओडिशा, नेपाल वा अन्य कुनै पनि ठाउँको अन्य व्यक्ति। यस्ता कुराहरू हुन बन्द हुनुपर्छ। हामी न्याय चाहन्छौं। उनी नेपाली विद्यार्थी भएको कारणले मात्र होइन, अरु यसबाट गुज्रनु नपरोस् भनेर हामीले आवाज उठाउनुपर्छ।’
त्यस्तै, अर्का विद्यार्थी गिरिराजले विद्यार्थीहरू यहाँ धेरै आशा र भविष्यको महत्वाकांक्षा लिएर आउने गरे पनि उनीहरूको लागि सुरक्षाको ग्यारेन्टी नभएको बताए।
उनले भने, ‘चाहे त्यो नेपाली, बंगाली वा उडिया विद्यार्थी होस्। हामी जवाफदेहिताको माग गर्छौं। बारम्बार हुने मृत्युका घटनाहरू अत्यन्तै निन्दनीय छन् र विश्वविद्यालयले आफ्नो कर्तव्य पूरा गर्न असफल भइरहेको देखाउँछन्।’
वैशाख २०, २०८२ शनिबार ०९:०७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।