१९० सिटका लागि अष्ट्रेलियामा आज निर्वाचन हुँदै, मतदानमा सहभागी नहुनेलाई २० डलर जरिवाना
एजेन्सी : अस्ट्रेलियामा आज संघीय निर्वाचनका लागि मतदान हुँदैछ। यस निर्वाचनमा वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानीजको लेबर पार्टी र विपक्षी नेता पिटर डटनको लिबरल-नेशनल गठबन्धन बीच मुख्य प्रतिस्पर्धा छ।
नेपालमा जस्तै अष्ट्रेलियामा पनि दुईवटा संसद् छन्। माथिल्लो सदनलाई सिनेट र तल्लो सदनलाई प्रतिनिधि सभा भनिन्छ। तल्लो सदनमा बहुमत प्राप्त गर्ने दल वा गठबन्धनको नेता प्रधानमन्त्री बन्छ।
प्रतिनिधि सभाको १५० सिटका लागि आज मतदान हुँदैछ। यसको नतिजा मे ३ को रात वा मे ४ को बिहानसम्ममा आउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसका साथै माथिल्लो सदनको ७६ मध्ये ४० सिटको लागि पनि आजै मतदान हुनेछ। यस सदनमा निर्वाचित सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ र आधा सदस्यहरू प्रत्येक ३ वर्षमा परिवर्तन हुन्छन्।
देशमा २८ मार्च २०२५ मा संसद विघटन भएपछि सरकार कामचलाउ भइसकेको छ। यसपछि, देशभर २२ देखि ३० अप्रिलसम्म हुलाक मतदान गरियो भने आज मतदानस्थलमै गएर मतदान हुँदैछ।
२ करोड ७८ लाख कुल जनसंख्या भएको देशमा १ करोड ८० लाख मतदाता छन्। प्रतिनिधि सभामा भएका १५० सिटमध्ये सरकार बनाउन ७६ सिट आवश्यक हुन्छ।
प्रतिनिधि सभाको १५० सिटका लागि एक हजार १२६ जना उम्मेदवार छन् भने सिनेटका ४० सिटका लागि ३३० जना निर्वाचनमा होमिएका छन्।
अष्ट्रेलियामा, १८ वर्ष वा सोभन्दा माथिका सबै नागरिकहरूले अनिवार्य रूपमा मतदान गर्न आवश्यक छ। यदि उनीहरूले कुनै अनावश्यक कारणले त्यसो गर्न नसके २० अष्ट्रेलियन डलर जरिवाना गरिने कानुन छ।
यहाँ प्रधानमन्त्री बन्न उमेरको हदबन्दी छैन। अर्को शब्दमा भन्नुपर्दा, १८ वर्ष वा सोभन्दा माथिका मतदान गर्न सक्ने व्यक्तिहरूले पनि चुनाव लड्न र प्रधानमन्त्री पनि बन्नसक्ने प्रावधान संविधानमा छ।
प्रमुख चुनावी मुद्दा
बढ्दो मुद्रास्फीति र उच्च ब्याजदर यस पटक चुनावका प्रमुख मुद्दाहरू छन्।दुवै प्रमुख दलले जनतालाई आर्थिक राहत दिने वाचा गरेका छन्।
अष्ट्रेलियालीहरूलाई घर किन्न झन् गाह्रो भएको छ। विशेष गरी युवाहरूलाई नयाँ घर किन्न धेरै कठिनाइहरू सामना गर्नुपरेको अवस्थामा यसलाई पनि दुवै दलले प्रमुख मुद्दा बनाएका छन्।
यसका अलावा २०२२ को बाढी, २०२३ को आगलागी र ज्यास्पर चक्रवात र २०२५ को अल्फ्रेड चक्रवातका कारण पनि जलवायु यहाँको प्रमुख समस्या हो। लेबर पार्टीले नवीकरणीय ऊर्जामा लगानी गरेको छ भने लिबरल पार्टीले आणविक ऊर्जाको प्रस्ताव गरेको छ।
चुनावी सर्वेक्षणमा लेबर पार्टी अगाडि
चुनावपूर्व गरिएका सर्वेक्षणहरूले लेबर पार्टीलाई अग्रता देखाएका छन्। लेबर पार्टीले ८४ सिट जित्ने अनुमान गरिएको छ भने लिबरल गठबन्धनले ४७ सिट जित्न सक्छ। यदि यसो भएमा अल्बानीज दोस्रो पटक अष्ट्रेलियाको प्रधानमन्त्री बन्नेछन्।
यद्यपि, त्रिशंकू संसदको पनि भविष्यवाणी गरिएको छ। यदि कुनै पनि दलले ७६ सिट जित्न सकेनन् भने साना दलहरूको सहयोगमा सरकार बनाउनुपर्ने हुन सक्छ। २०१० मा, जुलिया गिलार्डले यस्तै तरिकाले सरकार गठन गरेकी थिइन्।
वैशाख २०, २०८२ शनिबार ०८:२०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।