लागुऔषधको ‘हटस्पट’ बन्दै वीरेन्द्रनगर, ५१ प्रतिशत कारोबार राति १२ बजेपछि

लागुऔषधको ‘हटस्पट’ बन्दै वीरेन्द्रनगर, ५१ प्रतिशत कारोबार राति १२ बजेपछि

सुर्खेत : कर्णाली प्रदेशमा लागुऔषधको कारोबार र दुरुपयोग तीव्र रूपमा बढ्दै गएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ मा १०६ मुद्दामा १६८ जना पक्राउ परेका थिए भने २०८१/०८२ चैत मसान्तसम्म १२० मुद्दामा २०२ जना पक्राउ भएका छन्।

कर्णालीका १० जिल्लामध्ये सुर्खेत, विशेषगरी प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकामा लागुऔषधको कारोबार र दुरुपयोग सबैभन्दा बढी देखिएको छ।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी शिवकुमार श्रेष्ठले वीरेन्द्रनगर लागुऔषधको ‘हटस्पट’ बन्दै गएको बताए।

‘पछिल्ला वर्षहरूमा लागुऔषधको सेवन, ओसारपसार र बिक्रीवितरण तीव्र भएको छ,’ उनले भने, ‘१८ देखि २५ वर्ष उमेर समूहका व्यक्ति, खासगरी कृषक, मजदुर, विद्यार्थी र कम पढेका युवा यसमा संलग्न छन्।’

तथ्याङ्कअनुसार यो उमेर समूहका ४८.५१ प्रतिशत व्यक्ति लागुऔषध कारोबार र सेवनमा जोडिएका छन्। प्रहरीका अनुसार राति १२ देखि बिहान ६ बजेसम्म ५१.६७ प्रतिशत कारोबार हुने गरेको छ।

‘बुधबार र बिहीबार, साथै फागुन र चैतमा कारोबार बढी हुन्छ’, एसएसपी श्रेष्ठले बताए।

लागुऔषध मुद्दामा सुर्खेतमा आर्थिक वर्ष २०७९/०८० मा ८८ मुद्दामा १४८ जना (११ महिला, १२७ पुरुष, १० बालक) र २०८०/०८१ मा ७४ मुद्दामा १०९ जना (४ महिला, १०४ पुरुष, १ बालक) पक्राउ परेका थिए।

चालु आर्थिक वर्ष २०८१/०८२ चैतसम्म सुर्खेतमा ७८ मुद्दामा १२२ जना पक्राउ भएका छन्, जसमध्ये ६१ मुद्दा वीरेन्द्रनगरका छन्।

लागुऔषध मुख्य रूपमा भारतको रूपइडिया र बर्दियाको बलरामपुरबाट कर्णाली भित्रिने गरेको प्रहरीले जनाएको छ। खुला सिमाना, सीमित सुरक्षाकर्मी, जनचेतनाको कमी, पुनर्स्थापना केन्द्रको अभाव, बेरोजगारी, गरिबी, संगठित गिरोह र सरकारी समन्वयको कमीले नियन्त्रणमा चुनौती थपिएको छ।

‘कानुनी र प्रशासनिक कमजोरीले पनि समस्या बढाएको छ’, एसएसपी श्रेष्ठले भने।

नवज्योती केन्द्रकी जरमायाँ बाठाले लागुऔषध न्यूनीकरणमा स्थानीय र प्रदेश सरकारको सक्रियता आवश्यक रहेको बताइन्।

‘वीरेन्द्रनगरमा कारोबार भुसको आगोजस्तै फैलिएको छ। प्रहरी एक्लैले यो रोकथाम गर्न सक्दैन,’ उनले भनिन्, ‘परिवार, समाज र विद्यालयस्तरमा सचेतना फैलाउन ढिलाइ गर्नुहुँदैन।’

कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले योजनाबद्ध सामाजिक सचेतनाले मात्र यो समस्या समाधान हुने बताए।

प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले लागुऔषधमा पक्राउ परेका युवालाई छुटाउन अभिभावकले नेतामार्फत दबाब दिने प्रवृत्तिले समस्या बढाएको बताए।

‘अभिभावकले छोराछोरी सुध्रिऊन् भन्ने सोच्नुपर्छ, छुटाउन दबाब दिनुहुँदैन,’ उनले भने, ‘प्रहरीलाई स्वतन्त्र काम गर्न दिनुपर्छ।’

प्रहरीले लालटिन अभियान, घरदैलो कार्यक्रम, पर्चा-पम्फ्लेट वितरण, पुनर्स्थापना केन्द्रको अनुगमन, हटस्पटमा सचेतना र गाँजा-अफिम फँडानी जस्ता प्रयास गरे पनि लागुऔषध दुरुपयोगको ग्राफ वर्षेनी उकालो लागेको देखिन्छ।

वैशाख २०, २०८२ शनिबार ०८:०३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।