रेशमलाई थुनाउने विष्टको हिरासत बसाई लम्बियो

काठमाडौं : गत बुधबार रेशम चौधरीलाई पाँच घण्टा थुनाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको हिरासत बसाई चार दिन लम्बिएको छ।
विष्टलाई चार दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो।
विष्टले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, अदालतले आज विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
उनले भने, 'अनधिकृत पत्र लेखेपछि विष्ट पक्राउ परेका थिए। आज अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीविरुद्ध लिखत कीर्ते कसुरमा अनुसन्धान भइरहेको छ।'
प्रहरीका अनुसार विष्टमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २७६ (३० को ‘क’ र ‘ख’) अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।
विष्टले लेखेको भनिएको पत्रको स्रोत, उद्देश्य र त्यसको प्रयोगबारे थप जानकारी लिने क्रममा प्रहरीले अनुसन्धानलाई प्राथमिकता दिएको छ।
वैशाख १९, २०८२ शुक्रबार २१:३२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।