‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक

‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक

काठमाडौं : निर्देशक दीपेन्द्र के. खनालले तीन वर्षअघि ल्याएको फिल्म ‘के घर के डेरा’ले न दर्शकलाई हँसाउन सक्यो, न निर्माता खुसी भए। हास्यमा आधारित भए पनि फिल्मको बक्स अफिस प्रदर्शन कमजोर रह्यो। उनै खनालले दोस्रो संस्करण ‘के घर के डेरा : घर नं २’ लिएर आएका छन्। 

जेठ २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। ललितपुरको पुल्चोकस्थित लबिङ मलको क्युएफएक्स सिनेमा हलमा ट्रेलर रिलिज गरिएको हो।

कार्यक्रममा निर्देशक खनालले भने, ‘त्यो फिल्म पुरै कमेडी नै थियो। कमेडी यसमा पनि छ, मज्जाको पनि। यस पटक चाहिँ भित्री कथामा नै फोकस हौँ, क्यारेक्टरमा नै फोकस हौँ भनेर सुन्दर चलचित्र बनाएका छौं।’

उनले दर्शकलाई मात्रै होइन, आफूलाई पनि सन्तुष्ट हुने खालको फिल्म बनाउने सोचका साथ यसपटकको निर्माणमा लागिएको बताए । ‘कतिपय मानिसलाई के हुन्छ भने चलचित्र हेरुन्जेल रमाइलो हुन्छ। पहिलाको ‘के घर के डेरा’ पनि एकदमै रुचाउनु भएको थियो, रमाइलो थियो। तर रमाइलो गर्ने चलचित्र फिल्म हेरिसकेपछि कुरा गर्ने फिल्म बन्यो कि बनेन भन्ने हुन्छ,’ उनले भने।

पहिलो संस्करणको कमजोरीबारे खनालले स्पष्टीकरण पनि दिए। ‘त्यो फिल्मको अन्तिमा म जोडिएको थिए। जे जस्तो थियो, त्यसैलाई मिलाएर मैले खिचेको थिए,’ उनले भने।

फिल्मका निर्माता सरद श्रेष्ठले दोस्रो संस्करण सुरुदेखि नै योजनाबद्ध रूपमा बनाउन सुझाएको खनालले बताए। ‘उहाँले भन्नु भयो, ‘एकदमै मलाई पनि मैले बनाएको चलचित्र हो भन्ने, मलाई गर्वले भन्न मिल्ने चलचित्र बनाउनु पर्यो।’ ल ठीक छ, त्यसो भएदेखि सुरुदेखि नै एउटा प्लान गरेर जाउँ र कालजयी चलचित्र बनाउँ भन्ने कुरा भएर निर्माण गरियो,’ खनालले भने ।

फिल्मलाई दर्शकले पनि सम्झन लायक बनाउने सोच राखिएको खनालको भनाइ छ। ‘जस्तै दर्शकले ‘पशुपतिप्रसाद’को अहिले पनि कुरा गर्नुहुन्छ, त्यस्तै चलचित्र बनाउँ भन्ने लागेर यसमा लागेको हो,’ उनले थपे।

पहिले आफ्नै कथा लेख्ने खनालले यसपटक उपन्यासकार बुद्धिसागरलाई फिल्म लेखनमा ल्याएका छन्। निर्देशक खनाल यसमा विश्वस्त छन् कि बुद्धिसागरले लेखेको कथा दर्शकको मन छुनेछ।

फिल्ममा केकी अधिकारी, खगेन्द्र लामिछाने, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, निश्चल बस्नेत, हरिहर शर्मा, सिर्जना नापित, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ। सार्वजनिक गरिएको ३ मिनेट २० सेकेन्डको ट्रेलरमा डेरामा बस्दाको पीडा र घरधनीको अवस्थामाथि केन्द्रित भावुक कथा देख्न सकिन्छ।

नकिम उदिन, सरद श्रेष्ठ र किरण महर्जनले लगानी गरेको फिल्ममा युवराज कार्की कार्यकारी निर्माता रहेका छन्। फिल्मको प्रचारप्रसार तीव्र रूपमा अगाडि बढाइएको छ।

वैशाख १९, २०८२ शुक्रबार १८:११:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।