नीति तथा कार्यक्रममा ओली सरकारले 'चिट चोर्यो', १० कार्यक्रम प्रचण्ड सरकारको जस्ताको त्यस्तै

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमका शिक्षा, स्वास्थ्य र सुरक्षा लगायतका १० कार्यक्रम गत आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट हुबहु सारेको छ।
गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए। अर्थमन्त्री थिए वर्षमान पुन। एमाले सरकारको सहयोगी दल थियो। सत्ता समीकरण बदलिएर अहिले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। अर्थमन्त्री छन् विष्णु पौडेल।
सार्वजनिक कार्यक्रमहरूमा ओली र पौडेल दुवैले प्रचण्ड सरकारले कुनै नौलो काम नगरेको भन्दै आलोचना गर्ने गरेका छन्। तर नीति तथा कार्यक्रममा भने पुरानै सरकारको सारेका छन्।
शुक्रवार राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको प्रमुख प्राथमिकतामा पर्नुपर्ने राष्ट्रिय सुरक्षा, शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरू नै असफल भएको देखिन्छ। जस कारण गत वर्षको नीति तथा कार्यक्रममा जे लेखियो शुक्रवार सार्वजनिक कार्यक्रममा पनि त्यही राखियो।
नेपाली सेनाको सुदृढीकरण, रक्षा विश्वविद्यालय, राष्ट्रिय सेवा दलको विस्तार, स्वास्थ्य सेवा बीमा प्रणाली एकीकरण र पहुँच विस्तार, अपाङ्गता भएका व्यक्तिको पहुँच र सेवा र शिक्षा क्षेत्र सुधार र राष्ट्रिय सुधार कार्यक्रमहरू जस्ताको त्यस्तै राखिनुले गत वर्ष सार्वजनिक भएको नीति तथा कार्यक्रम प्रभावहीन भएको देखिन्छ।
कपीपेस्ट गरिएका कार्यक्रमहरू
१. राष्ट्रिय सुरक्षा नीति र रक्षा विश्वविद्यालय
- २०८०/८१ : पृष्ठ ४५
- २०८२/८३ : पृष्ठ ४६
गत वर्ष सार्वजनिक नीति तथा कार्यक्रमको पृष्ठ नम्बर ४५ मा रहेको "राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति कार्यान्वयनलाई थप प्रभावकारी बनाइने..." र रक्षा विश्वविद्यालयको पूर्वाधार निर्माण सम्बन्धी नीति यस पटक पृष्ठ नम्बर ४६ मा ल्याएर सर्लक्क राखियो।
२. नेपाली सेनाको सुदृढीकरण र सुविधा
- २०८०/८१ : पृष्ठ ४५
- २०८२/८३ : पृष्ठ ४६
नेपाली सेनाको क्षमता विस्तार लगायतका कार्यक्रमका रूपमा आएको "नेपाली सेनाको क्षमता विकास र सङ्गठनात्मक सुदृढीकरण गरिनेछ..." भन्ने वाक्यसँगै सेनाको बङ्कर र आवासीय सुविधा सम्बन्धी खण्ड हुबहु गत वर्षकै नीति तथा कार्यक्रमबाट सारियो।
३. राष्ट्रिय सेवा दल विस्तार
- २०८०/८१ : पृष्ठ ४५
- २०८२/८३ : पृष्ठ ४७
"राष्ट्रिय सेवा दलको कार्यक्रमलाई दुर्गम र सीमावर्ती विद्यालयसम्म विस्तार गरिने..." वाक्य सर्लक्क कपी पेस्ट देखिन्छ। फरक नीति तथा कार्यक्रमको पृष्ठ संख्या मात्रै। पहिला पृष्ठ नम्बर ४५ मा थियो, अहिले ४७ मा छ।
४. स्वास्थ्य बीमा प्रणाली एकीकरण र पहुँच विस्तार
- २०८०/८१ : पृष्ठ ३४
- २०८२/८३ : पृष्ठ ५
स्वास्थ्य बीमा प्रणाली सबै कार्यक्रमसँग जोड्ने र सेवा पहुँचलाई सुलभ बनाउने खण्ड आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रमको हुबहु राखिएको छ।
५. अपाङ्गता भएका व्यक्तिको पहुँच र सेवा
- २०८०/८१ : पृष्ठ ३४
- २०८२/८३ : पृष्ठ ३५
सार्वजनिक पूर्वाधार अपाङ्गता मैत्री बनाउने र समुदायमा आधारित सेवा विस्तारका खण्डहरू जस्ताको त्यस्तै ल्याएर राखिएको छ।
६. विद्युत् खपत योजना २०८०
- २०८०/८१ : पृष्ठ २०
- २०८२/८३ : पृष्ठ २१
"विद्युत् खपत वृद्धि तथा इन्धन प्रतिस्थापन योजना २०८० अनुसार..." काम गर्ने विषय गत वर्ष सार्वजनिक नीति तथा कार्यक्रममा जस्तो लेखियो आगामी वर्षको कार्यक्रममा पनि त्यस्तै राखियो।
७. शिक्षा क्षेत्र सुधार र राष्ट्रिय सुधार
- २०८०/८१ : पृष्ठ २७–२८
- २०८२/८३ : पृष्ठ २७–२९
आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएको "विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधार गरिनेछ" भन्ने खण्डहरू जस्ताको तस्तै राखियो।
८. उद्यमशीलता र आत्मनिर्भरता
- २०८०/८१ : पृष्ठ २१
- २०८२/८३ : पृष्ठ २१–२२
गत वर्ष राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको पृष्ठ २१ मा उद्यमशीलता र आत्मनिर्भरता बढाउनेबारे जे लेखिएको थियो शुक्रवार सार्वजनिक आगामी नीति तथा कार्यक्रममा पनि "उद्यमशीलताको प्रवर्द्धन, स्टार्टअप प्रोत्साहन, आत्मनिर्भरता निर्माण" सम्बन्धी अंश हुबहु राखिएको छ।
९. जलवायु परिवर्तन रणनीति र सगरमाथा संवाद
- २०८०/८१ : पृष्ठ १७
- २०८२/८३ : पृष्ठ १७
"सगरमाथा संवाद", "कार्बन उत्सर्जन न्यूनीकरण", "जलवायु वित्तमा पहुँच" सम्बन्धी खण्डहरू गत वर्ष सार्वजनिक नीति तथा कार्यक्रममा जस्तो थियो यस पटक पनि त्यस्तै राखियो।
१०. सामाजिक सुरक्षा
- २०८०/८१ : पृष्ठ ३४
- २०८२/८३ : पृष्ठ ३५
ज्येष्ठ नागरिक सेवा केन्द्र, तिर्नु पर्ने शुल्क नलाग्ने सेवा, समावेशी सामाजिक सुरक्षा कार्यक्रमहरू गत वर्षकै नीति तथा कार्यक्रमका निरन्तरता हुन्।
वैशाख १९, २०८२ शुक्रबार १७:५९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।