सन् २०४५ भित्र ‘शून्य कार्बन उत्सर्जन’ राष्ट्र बन्ने नेपालको महत्त्वाकांक्षी योजना

काठमाडौं : जलवायु परिवर्तनको असर तीव्र रूपमा भोगिरहेको नेपालले अब सन् २०४५ सम्ममा ‘खुद शून्य कार्बन उत्सर्जन गर्ने’ लक्ष्यसहित दीर्घकालीन रणनीति कार्यान्वयन गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो रणनीति सार्वजनिक गरेका हुन्।
उनले भने, ‘जलवायु परिवर्तनका कारण नेपालले भोग्न परेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न २०८२ साल जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गरिनेछ। उक्त संवादमा व्यक्त हुने धारणा र सिफारिसका आधारमा जलवायु अनुकूलन र असर न्यूनीकरणका कार्यक्रमहरू कार्यान्वयन गरिनेछन्।’
नेपाल जलवायु परिवर्तनको मुख्य कारण नभए पनि त्यसको गम्भीर असर झेलिरहेको छ। विश्वमा सबैभन्दा कम कार्बन उत्सर्जन गर्ने देशहरूमध्ये पर्ने नेपालको कुल उत्सर्जन मात्रा न्यून छ।
सामान्यतः विकासोन्मुख मुलुकहरूले ‘शून्य कार्बन उत्सर्जन’ नीति अपनाउँदैनन्। तर, नेपालले अग्रसर भई यस्तो महत्त्वाकांक्षी योजना अघि सारेको छ।
वैशाख १९, २०८२ शुक्रबार १७:५०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।