निर्देशक मदनको हिजोका कुरा : ‘माया गर ल’ले चुर्लुम्मै डुबायो, बिराज भट्ट अभिनित फिल्मको नेगेटिभ मुम्बईको ल्याबमै थन्कियो

निर्देशक मदनको हिजोका कुरा : ‘माया गर ल’ले चुर्लुम्मै डुबायो, बिराज भट्ट अभिनित फिल्मको नेगेटिभ मुम्बईको ल्याबमै थन्कियो

भक्तपुरको गुण्डुमा ६० वर्षअघि जन्मिए निर्देशक तथा गीतकार मदन घिमिरे। काठमाडौं नजिकको जिल्लामा हुर्किए पनि त्यतिबेलाको समय निकै कठिन थियो।  भक्तपुरकै शारदा माध्यमिक विद्यालयबाट २०३९ सालमा एसएलसी पास गरेका उनले त्यही वर्ष रेडियो नेपालमा गीत रेकर्ड गराए।

सानैदेखि गीत र कविता लेखनमा सक्रिय उनले एसएलसीपछि राष्ट्रिय भावको गीत ‘देशको लागि शहीदले यहाँ हाँसीहाँसी गोली थापे’ रेकर्ड गराए। रेडियो नेपालमा यो गीत निकै लोकप्रिय भयो, तर पञ्चायत र प्रजातन्त्रको चेपुवामा परेर यो गीत शहीद दिवसमा मात्र बज्न थाल्यो।

घिमिरेले २०४४ सालदेखि फिल्ममा मुख्य सहायक निर्देशकको रूपमा काम शुरू गरे। पहिलो मुख्य सहायक निर्देशकको काम ‘भाग्य रेखा’मा गरे। त्यसपछि २०५० सालतिर ‘घर संसार’बाट निर्देशकको रूपमा डेब्यू गरे।

त्यसपछि ‘माया नमार’, ‘डन’, ‘दादागिरी’, ‘मिस्टर डन’, ‘बुवा आमा’लगायत दर्जनौं फिल्म निर्देशन गरे। अधिकांश फिल्ममा राजेश हमालसँग काम गरेका उनले आफ्ना तीता-मिठा अनुभव उकेराको ‘हिजोको कुरा’ कोलममामा यसरी सुनाए:

स्कुलको लुगा फेर्न सकिँदैनथ्यो
वि.सं. २०२२ सालमा भक्तपुरको गुण्डु गाविस-९ (हाल सूर्यविनायक नगरपालिका-७) मा जन्मिएको हुँ। त्यतिबेला जीवन निकै कठिन थियो। स्कूलको लुगा एक जोर मात्र हुन्थ्यो, फेर्ने अर्को जोर हुँदैनथ्यो।

बर्खामा लुगा भिजेपछि सुकाएर वा इस्त्री गरेर भए पनि त्यही लगाएर स्कूल जानुपर्थ्यो। मैले सुरूमा लिखनारायण स्कूलमा कक्षा ३ सम्म पढेँ। त्यसपछि भक्तपुरको शारदा माध्यमिक विद्यालयमा कक्षा ४ देखि पढ्न थालेँ र २०३९ सालमा त्यहीँबाट एसएलसी पास गरेँ।

हाम्रो गाउँमा त्यतिबेला ७० प्रतिशत बालबालिका स्कूल जान्थे। तर, आर्थिक अभावले कतिपय स्कूल जान पाउँदैनथे। विशेषगरी कमजोर आर्थिक अवस्थाका बालबालिकाहरू घरको काममा व्यस्त हुन्थे।

हाम्रो परिवारमा हामी चार जना दाजुदिदी-बहिनी सबै स्कूल जान्थ्यौँ। केटाकेटी भनेर पढाइमा कुनै विभेद थिएन। तर, आर्थिक समस्याले कतिपय परिवारमा छोरीहरूको पढाइ छुट्थ्यो। मलाई यस्ता कठिनाइहरू आफैँले भोग्नुपर्यो।

त्यतिबेला अहिलेको जस्तो इन्टरनेट थिएन, त्यो त कल्पनाभन्दा बाहिरको कुरा थियो। हाम्रो गाउँमा टेलिफोनसम्म थिएन। त्यसैले किताब पढेरै पढाइ गर्नुपर्थ्यो। अहिलेको तुलनामा त्यो समय निकै कठिन थियो।

मलाई याद छ, चिया पसलमा चिया पिउन १० पैसा लाग्थ्यो। तर, बाहिर चिया खाने चलन कमै थियो। बाबाले बाहिरको चिया नखानु, घरमै बनाएर खाऊ भन्नुहुन्थ्यो। पैसा त्यतिबेला निकै महँगो थियो, हत्तपत्त हुँदैनथ्यो। भएको पैसा पनि जोगाउनुपर्थ्यो।

साहित्य र गीत लेखनको सुरुवात
सानैदेखि मलाई साहित्यमा रुचि थियो। स्कूल पढ्दै गर्दा मैले गीत लेखेर चर्चा कमाएँ। भक्तपुरका सामाजिक कार्यक्रमहरूमा कविता वा गीत वाचन गर्थेँ। गाउँबाट आएका हामीजस्तालाई रेडियो नेपालमा गीत रेकर्ड गराउन निकै गाह्रो थियो।

तर, मेरो बाबा राणाकालमा ऐन श्रेस्ता पास गर्नुभएकोले हाम्रो आर्थिक अवस्था केही सहज थियो। त्यसले मलाई रेडियो नेपालमा गीत रेकर्ड गराउन अलिक सजिलो भयो। नत्र रेडियो नेपालमा गाउँबाट आएकालाई खासै वास्ता गरिँदैनथ्यो। त्यहाँ पहुँच बनाउन निकै मेहनत गर्नुपर्थ्यो।

२०३९ सालमा एसएलसी सकेपछि मैले लेखेको राष्ट्रिय गीत ‘देशको लागि शहीदले यहाँ हाँसीहाँसी गोली थापे’ रेडियो नेपालमा रेकर्ड भयो। यो गीत सीताराम ताजपुरिया, द्वारिकालाल जोशी, सुन्दर श्रेष्ठलगायत धेरै गायक-गायिकाले गाए।

त्यतिबेला रेडियो नेपालका कार्यकारी निर्देशक भोग्य प्रसाद शाहको नेतृत्वमा गीत छनोट हुन्थ्यो। गीतको शब्द ठीक नभए सुधार्न लगाइन्थ्यो। उपयुक्त शब्दलाई स्वीकृति दिएर छाप लगाएपछि मात्र रेकर्ड हुन्थ्यो।

यो गीत त्यतिबेला रेडियो नेपालमा निकै बज्यो। तर, पञ्चायत र प्रजातन्त्रको चेपुवामा परेर यो गीत पछि शहीद दिवसमा मात्र बज्न थाल्यो। अन्य दिन बज्न छाड्यो। सायद युवा जागरण र राजनीतिक उथलपुथलको प्रभावले होला।

अहिले यो गीत कता हरायो, थाहा छैन। रेडियो नेपालको कार्डेजमा राखिएका धेरै गीतहरू ढुसी परेर वा अन्य कारणले नष्ट भए भन्ने सुनेको छु।

त्यसपछि सूर्य थुलुङको स्वर र संगीतमा मेरो पहिलो आधुनिक गीत ‘ईश्वरको रूप भन्छन् बुझ्नेहरू माया’ रेकर्ड भयो। म्युजिक नेपालको ‘फूलवारी’ एल्बममा मेरा दुई गीत समावेश भए- ‘जुन फूल रोजे पनि’ र ‘योवनका रहरहरू’। दुवै मुरलीधरको स्वर र संगीतमा थिए।

आनन्द कार्कीको पहिलो एल्बममा पनि मैले गीत लेख्ने अवसर पाएँ। किरण प्रधान, सुनिता सुब्बालगायत चर्चित गायक-गायिकाले मेरा गीत गाए। मैले दीपक रायमाझीको निर्देशनमा बनेको फिल्म ‘भाग्य रेखा’मा मुख्य सहायक निर्देशकको रूपमा काम गर्दा दुई गीत लेखेँ।

अहिलेसम्म २०० भन्दा बढी गीत लेखिसकेको छु भने १४ भन्दा बढी फिल्ममा सहायक निर्देशक भएर काम गरिसकेँ। २०५० सालपछि मेरो निर्देशनमा ३२ भन्दा बढी फिल्म बने, जसमध्ये पछिल्लो फिल्म ‘एक्टर’ पनि हो। बनाएकामध्ये ५/७ वटा फिल्म फ्लप भए, बाँकीले राम्रै कमाए।

फिल्मको पहिलो अनुभव
मैले पहिलो पटक हेरेको फिल्म ‘मनको बाँध’ हो। भक्तपुरको नवदुर्गा हलमा आमा र अन्यसँगै यो फिल्म हेर्न गएको थिएँ। फिल्म हेर्दा अनौठो लाग्थ्यो।

पर्दामा देखिने पात्रहरूले हामीजस्तै कुरा गरेको देख्दा अभिनय हो भन्ने लाग्दैनथ्यो। पात्रलाई दु:ख पर्दा मलाई पनि दुखेजस्तो हुन्थ्यो। हलमा दर्शकहरू ग्वाँग्वाँ रोएको देख्दा म पनि भावनामा बग्थेँ। नेपाली फिल्म हेर्दा आफ्नै गाउँठाउँको कथा देखिन्थ्यो, जसले दर्शकलाई छोइरहन्थ्यो।

फिल्ममा काम गर्दाको तितो अनुभव
मैले दीपक रायमाझीको निर्देशनमा बनेको ‘भाग्य रेखा’मा मुख्य सहायक निर्देशकको रूपमा डेब्यू गरेँ। त्यसपछि १२/१४ फिल्ममा सहायक निर्देशक भएर काम गरेँ। २०५० सालमा ‘आमाको माया’बाट निर्देशकको रूपमा काम सुरू गरेँ। मैले ३२ वटा फिल्म निर्देशन गरेँ।

फिल्म ‘माया गर ल’मा ३४/३५ लाख लगानी भएको थियो, जुन त्यतिबेला ठूलो रकम थियो। रामकेशरी बोगटी दाइले ८/१० लाख लगानी गर्नुभयो, बाँकी २०/२५ लाख मेरो थियो। यो फिल्मले हामीलाई पूरै डुबायो। हातै खाली बनायो।

बनाएका कतिपय फिल्म रिलिज नै भएनन्। बिराज भट्ट र उनको भाइले अभिनय गरेको, चिरञ्जीवी बस्नेत दाइले बनाएको फिल्मको डबिङ र इडिटिङको काम सकिए पनि रिलिज भएन। त्यसको नेगेटिभ मुम्बईको ल्याबमै छ, सायद अहिले पनि होला।

त्यतिबेला अहिलेको जस्तो डिजिटल प्रविधि भएको भए नेपालमै काम हुन्थ्यो। तर, सबै काम मुम्बईमा गर्नुपर्थ्यो, जसले गर्दा धेरै कुरा अड्कियो। निर्माताको लगानी डुब्यो, मेरो मेहनत पनि खेर गयो।

त्यतिबेला हातमा मोबाइल बोक्नेहरू औंलामा गनिन्थे, खासगरी उद्योगपति वा ठूला मान्छेहरूले मात्र बोक्न सक्थे। सेलिब्रेटीहरूको हैसियत मोबाइल बोक्ने खासै हुँदैनथ्यो। मैले ‘कस्तो साइनो’ बनाउँदा मोबाइल किनेको थिएँ।  ‘कस्तो संसार’ फिल्म निर्माता श्याम खेतान र नरेश पौडेलसँगको सहकार्यमा बनाएको थिएँ।

कलाकारको पारिश्रमिक पनि अहिलेको जस्तो थिएन। ५० हजारदेखि १ लाखसम्म लिन्थे, १०/५० लाख पाउने अवस्था थिएन।

राजेश हमालसँगको सहकार्य
मैले राजेश हमालसँग १७/१८ वटा फिल्ममा काम गरेँ। उनलाई समयमा नआउने भन्ने गुनासो कतिपयले गर्थे, तर मलाई कहिल्यै त्यस्तो समस्या भएन। उनी १ बजे आउँछु भन्थे भने ठ्याक्कै समयमा आउँथे। अभिनयमा उनी निकै मेहनती थिए।

‘भाग्य रेखा’ फिल्म गर्दा मैले उनलाई पहिलो पटक भेटेँ। यो फिल्ममा सुरूमा राजेश र करिश्मा मानन्धरको मुहूर्त गरिएको थियो। पछि करिश्माको सेड्युल मिलेन। त्यसपछि राजेश र कृष्टि मैनाली राखियो, तर उनीहरू पनि बाहिरिए। अन्ततः रविन्द्र खड्का र मौसमी मल्ललाई भित्र्याएर सुटिङ सकियो। राजेश हमाल यो फिल्ममा अभिनय गर्न पक्का भइसकेका थिए, तर हृदयघातका कारण दिल्लीमा उनका बुवा बितेपछि काम गर्न पाएनन्।

राजेशको बुवा भारतमा दोस्रो राजदूत हुनुहुन्थ्यो। त्यही समयमा राजेशले उतै मोडलिङ सिकेका थिए। पछि उनको बाबुको हृदयघातले बितेपछि उनले फिल्ममा फर्कन सकेनन्। हामीले ‘प्रियसी’को सुटिङ नगरकोटमा गर्दा उनको बाबु बितेको खबर सुनेँ। ‘भाग्य रेखा’मा उनले काम गर्न नपाउनु नेपाली फिल्मका लागि दु:खको कुरा थियो। पछि उनले आफ्नै मामा निर्माता भएको ‘युगदेखि युग’मा अभिनय गरेर सफल भए।

‘माया नमार’मा मैले राजेशलाई तेस्रो पात्रको रूपमा प्रस्तुत गरेँ। यो फिल्ममा कथाकार वा उपन्यासकारलाई दु:ख पर्दा तेस्रो पात्र देखा पर्थ्यो। उनको डायलग फरक थियो- ‘ए भाइ, मलाई थाहा छ तिमीले...’ भन्ने ठूलो स्वरमा हाइ-लो गरेर बोल्नुपर्थ्यो। त्यसमा उनले निकै मेहनत गरे।

कहिलेकाहीँ उनले मलाई ‘मदन, यो कसरी बोल्ने?’ भनेर सोध्थे। त्यतिबेला डिजिटल प्रविधि थिएन। क्यामेरामेनले खिचेको दृश्य धुलाइपछि मात्र थाहा हुन्थ्यो। अहिलेका कलाकारमा त्यो बेलाको जस्तो अनुशासन र मेहनत कम देख्छु।

वैशाख १९, २०८२ शुक्रबार १५:११:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।