प्रिशाको मृत्युपछि ओडिशा सरकारसहित एकपछि अर्को मन्त्रीको बयान

काठमाडौं : ओडिशाका कानून मन्त्री पृथ्वीराज हरिचन्दनले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) युनिभर्सिटीमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रिशा शाह मृत्युबारे अनुसन्धानपछि थप कदम चालिने बताएका छन्।
बिहीबार साँझ केआईआईटीमा वीरगञ्जकी १९ वर्षीया प्रिशा होस्टलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
घटनापछि मन्त्री हरिचन्दनले अनुसन्धानका लागि सम्बन्धित विभागले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको भन्दै प्रारम्भिक अनुसन्धान प्रतिवेदनको समीक्षापछि मात्र थप कदम चालिने स्पष्ट पारेका हुन्।
यस्तै, ओडिशाका राजस्व मन्त्री सुरेश पुजारीले घटनालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै युवामाझ बढ्दो आत्महत्या प्रवृतिप्रति चिन्ता व्यक्त गरेका छन्। उनले ओडिशा सरकारले घटनालाई गम्भीरतापूर्वक लिएको र छात्राको मृत्युका कारण र परिस्थिति हरुको सूक्ष्म समीक्षा भइरहेको बताएका छन्।
यस घटनाले स्थानीय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै चासो उत्पन्न गराएको भन्दै उनले मानसिक स्वास्थ्य सहयोग र संस्थागत जवाफदेहिताको माग तीव्र रूपमा उठेको बताए।
घटनापछि ओडिशा सरकारको सूचना तथा जनसम्पर्क विभागले एक विज्ञप्ति निकालेर सरकारलाई घटनाबारे बेलुकी ८ बजे थाहा भएको भन्दै थाहा पाउनेबित्तिकै परिवारलाई खबर गरिएको जानकारी दिएको छ।
राज्य सरकारले मृतककी परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ। सूचना प्राप्त भएपछि प्रहरी आयुक्त र राजस्व विभागीय आयुक्तसहितका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेर घटनाको विस्तृत छानबिन थालेको विज्ञप्तिमा उल्लेख छ।
घटनाको वास्तविक कारण पत्ता लगाउन तथा आवश्यक कारबाही अघि बढाउन आवश्यक कदम चालिएको भन्दै त्यहाँको सरकारले हाल फरेन्सिक टोली घटनास्थलमा उपस्थित भई प्रमाण संकलनको कार्यमा जुटिरहेको जानकारी दिएको छ।
ओडिसाको केआईआईटीमा पछिल्लो तीन महिनाको अवधिमा दोस्रो छात्राको मृत्यु भइसकेको छ। यसअघि रुपन्देहीको २० वर्षीया प्रकृति लम्साल सोही विश्वविद्यालयमा मृत भेटिएकी थिइन्। उनी त्यहाँ कम्प्युटर साइन्स अध्ययन गरिरहेकी थिइन्।
वैशाख १९, २०८२ शुक्रबार १३:३६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।