प्रिशा मृत भेटिएको घटनाबारे सत्यतथ्य छानविन गर्न परराष्ट्र मन्त्रालयबाट कुटनीतिक पहल

प्रिशा मृत भेटिएको घटनाबारे सत्यतथ्य छानविन गर्न परराष्ट्र मन्त्रालयबाट कुटनीतिक पहल

काठमाडौं : परराष्ट्र मन्त्रालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको सत्यतथ्य छानविन गर्न कुटनीतिक पहल थालेको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रिशा मृत भेटिएको घटनाले मर्माहत भएको भन्दै मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जानकारी गराएकी हुन्।

पर्साको वीरगञ्ज निवासी बि-टेक प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया प्रिशा बिहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।

परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ। प्रिशाका परिवारका सदस्यहरू भारत प्रस्थान गरिसकेका छन्।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्। कम्प्युटर साइन्स तेस्रो वर्षकी विद्यार्थी लम्सालको मृत्युको सुरुवाती अनुसन्धानमा आत्महत्याको आशंका गरिएको थियो।

प्रहरीले सोही संस्थाका २१ वर्षीय मेकानिकल इन्जिनियरिङका विद्यार्थीलाई हिरासतमा लिएको थियो। उक्त घटनापछि कलेज प्रशासनले गरेको गलत व्यवहारको विरुद्धमा नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए। केही विद्यार्थी नेपाल फर्किएका थिए।

यसपटकको घटनाले पुनः विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयमा गम्भीर चिन्ता उत्पन्न गरेको छ।

घटनाको अनुसन्धान भुवनेश्वरको इन्फोसिटी प्रहरीद्वारा भइरहेको छ। घटनालाई अस्वाभाविक मृत्युको रूपमा दर्ता गरेर विस्तृत अनुसन्धान थालिएको प्रहरी आयुक्त एस. देव दत्त सिंहलाई उद्धृत गर्दै आजतकले समाचार लेखेको छ।

विश्वविद्यालय प्रशासनले हालसम्म घटनाका बारेमा औपचारिक प्रतिक्रिया दिएको छैन।

वैशाख १९, २०८२ शुक्रबार ०८:०९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।