दिल्लीबाट सुदूरपश्चिमतर्फ सर्दैछ पानी पार्ने बादल, सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज तीन प्रदेशमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान उक्त पानी पार्ने प्रणाली भारतको दिल्लीबाट नेपालको सुदूरपश्चिमतर्फ सरिरहेको छ।
यसले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बढी प्रभाव पार्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्दै विभागले विहान सामाजिक सञ्जालमा एक पोस्ट गरेको छ।
जसमा लेखिएको छ, ‘हाल मेघगर्जन/चट्याङ्ग सहित वर्षा गराउने बादल पश्चिमबाट नेपाल प्रवेश गरिरहेकोले अझै सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा हुने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु होला।’
पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले बादल लाग्ने र पानी पर्ने भइरहेको विभागले जनाएको छ। यो क्रम आगामी तीन दिनसम्मै जारी रहने छ।
तीन प्रदेशबाहेक अन्य प्रदेशमा पनि अपरान्हमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
वैशाख १९, २०८२ शुक्रबार ०७:४५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।