भुवनेश्वरको केआईआईटीमा अर्की नेपाली छात्रा मृत भेटिइन्, मृत्यु अप्राकृतिक

भुवनेश्वरको केआईआईटीमा अर्की नेपाली छात्रा मृत भेटिइन्, मृत्यु अप्राकृतिक

काठमाडौं : भुवनेश्वरस्थित कलिंग इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की एक नेपाली छात्रा मृत फेला परेकी छिन्।

मृतक विश्वविद्यालयको बि-टेक प्रथम वर्षकी विद्यार्थी वीरगन्जकी प्रिशा साह हुन्। सोही विश्वविद्यालयमा गत फेब्रुअरीमा एक नेपाली छात्राको मृत्यु भएको थियो।

भुवनेश्वर-कटक प्रहरी आयुक्त एस. देव दत्त सिंहलाई उद्धृत गर्दै उडिसा टिभी लेखेको समाचारमा उल्लेख भए अनुसार छात्रावासको कोठामा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।

हालसम्म विश्वविद्यालयले यस घटनाबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। प्रहरी आयुक्त सिंहले उडिसा टिभीलाई दिएको जानकारी अनुसार साँझ करिब ७ बजे उनी नदेखिएपछि कोठामा हेर्दा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। प्रारम्भिक जाँचमा मृतकको वरिपरि कुनै सुसाइड नोट फेला परेको छैन।

‘हामीले अनुसन्धान गरिरहेका छौँ। टोली घटनास्थलमा पुगिसकेको छ। अहिलेसम्म कुनै उजुरी प्राप्त नभएकोले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ’ सिंहको भनाई उद्धृत गर्दै उडिसा टिभीले लेखेको छ।

केही महिनाभित्रै दोस्रो घटना

यसअघि गत फेब्रुअरी १६ मा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया छात्रा प्रकृति लम्साल आफ्नो छात्रावासमा मृत फेला परेकी थिइन्। कम्प्युटर विज्ञानकी तेस्रो वर्षकी विद्यार्थी लम्सालको मृत्युको सुरुवाती अनुसन्धानमा आत्महत्याको आशंका गरिएको थियो।

प्रहरीले सोही संस्थाका २१ वर्षीय मेकानिकल इन्जिनियरिङका विद्यार्थीलाई हिरासतमा लिएको थियो। उक्त घटनापछि कलेज प्रशासनले गरेको गलत व्यवहारको विरुद्धमा नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए। केही विद्यार्थी नेपाल फर्किएका थिए।

वैशाख १९, २०८२ शुक्रबार ००:०४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।