भक्तपुर क्यान्सर अस्पतालको दुई टेन्डरमा बदमासी: न्यूस्टरका लागि खरिद मापदण्ड लक्ड

भक्तपुर क्यान्सर अस्पतालको दुई टेन्डरमा बदमासी: न्यूस्टरका लागि खरिद मापदण्ड लक्ड

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै विशेष अदालतमा दायर गरेको मेडिकल उपकरण खरिद अनियमितता सम्बन्धी भ्रष्टाचारको मुद्दामा उल्लेख गरेको एक शैली थियो’खरिद मापदण्ड’ मा चलखेल गरेर स्वतन्त्र प्रतिस्पर्धा रोक्नु।

यस्तो मिलेमतोमा स्पेसिफिकेसनदेखि खरिद प्रक्रियाका सर्तहरूमा निश्चित मेसिन उत्पादक कम्पनीको मेसिनको मापदण्ड मात्रै जायज हुने सर्त राखेर अन्य मेसिन उत्पादक प्रतिस्पर्धामा सहभागी नै हुन नसक्ने अवस्था बनाइन्छ।

उकेराले स्वास्थ्य सेवा विभागदेखि संघीय अस्पतालहरूसम्मका खरिद पक्रियामा बनेका मापदण्डहरूको अध्ययन गर्दा अधिकांशमा यस्तै चलखेल हुने गरेको खुलेको थियो।

भक्तपुर क्यान्सर अस्पतालले अगाडि बढाएको करिब दुई करोड ४७ लाख ६० हजारको ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिनको टेन्डरको मापदण्डमा अपनाएको प्रक्रिया अख्तियारले अनियमितता भनेर जसरी परिभाषित गरेको थियो ठ्याक्कै त्यस्तै देखियो।

अस्पतालले २०८१ चैत ३१ मा ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिन खरिदका लागि टेन्डर आह्वान गरेर प्रक्रिया अगाडि बढाएको थियो। अस्पतालले टेन्डर आह्वान गरेको ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिनको ठेक्का (आइएफबी) नम्बर ‘बीसीएच-गुड्स-एनसीबी-०८१-८२-१२’ हो।

खरिद प्रक्रियामा अस्पतालले बनाएको मापदण्ड तथा प्राविधिक स्पेसिफिकेसन अध्ययन गर्दा निश्चित कम्पनीको उत्पादक मेसिनको प्रस्ताव मात्र स्वीकृत हुने गरी स्पेसिफिकेसन निर्माणमा मिलेमतो गरेको देखियो।

खरिद मापदण्डमा अस्पतालले बनाएको प्राविधिक स्पेसिफिकेसनको बुँदाहरू मेसिन उत्पादक कम्पनी ‘न्यूस्टर’को ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिनको प्राविधिक मापदण्डसँग मात्रै मिल्नेगरी बनाइएको देखिन्छ।

अस्पतालले २०८२ वैशाख १६ गते दुई बजे टेन्डरको प्रिबिड मिटिङ राखेको थियो। प्रिबिड मिटिङमा सहभागी सप्लायर्स कम्पनीहरूले स्पेसिफिकेसनका प्रावधान निश्चित कम्पनीको उत्पादक मेसिनलाई मात्र मिल्नेगरि बनाएको भन्दै संशोधनको प्रस्ताव समेत गरेका छन्।

अस्पतालले ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिन खरिदको टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति २०८२ वैशाख ३१ लाई  तोकेको छ भने सोही दिन एक बजेलाई टेन्डर खुल्ने मिति तोकेको छ।

टेन्डर आह्वान भएको कागजातमा ‘सप्लाई, इन्स्टलेसन एन्ड कमिसनिङ अफ सोलिड वेष्ट म्यानेजमेन्ट सिस्टम फर हस्पिटल’ लेखिएको छ। यो मेसिनमा अस्पतालबाट निस्कने ठोस किसिमका फोहोर हालिन्छ र प्रशोधन तथा निर्मलीकरण गरेर सानो एकाइमा घटाएर थोरै परिमाणमा ठोस पदार्थ निस्कन्छ र त्यसलाई विसर्जन गरिन्छ।

अस्पतालले बनाएको खरिद मापदण्ड र मेसिन उत्पादक कम्पनी ‘न्यूस्टर’को क्याटलग हेर्दा बुँदा बुँदा कपीपेस्ट गरेर ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिनको स्पेसिफिकेसन लक्ड गरेको प्रस्ट देखियो।

अस्पतालले सार्वजनिक गरेको खरिद मापदण्डको प्राविधिक स्पेसिफिकेसनका बुँदाहरू ‘न्यूस्टर’को ‘एनडब्लु-१५’ मोडेलको फोहोर व्यवस्थापनसँग सम्बन्धित मेसिनसँग ठ्याक्कै मिलेको देखियो।

बुँदैपिच्छे कम्पनको क्याटलग कपिपेष्ट

भक्तपुर क्यान्सर अस्पतालले टेन्डर गरेको ‘फोहोर व्यवस्थापन’ सम्बन्धी (सोलिड वेष्ट म्यानेजमेन्ट सिस्टम फर हस्पिटल)’ मेसिनको प्राविधिक स्पेसिफिकेसनका मुख्य बुँदाहरू मेसिन उत्पादक कम्पनी ‘न्यूस्टर’को विशेष गरी ‘एनडब्लु–१५’ मोडेलसँग हुबहु मिल्छ।

अस्पतालले टेन्डर  गरेको ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिनको प्राविधिक स्पेशिफिकेशनमा ‘१’ देखि ‘१३.४’ सम्म बुँदाहरू राखिएका छन्। त्यसमा लक्ड गरिएका केही बुँदा उदाहरणका रूपमा यहाँ पढौँ।

अस्पतालले टेन्डर आह्वान गरेको ‘फोहोर व्यवस्थापन’ सम्बन्धी (सोलिड वेष्ट म्यानेजमेन्ट सिस्टम फर हस्पिटल)’ मेसिनको प्राविधिक स्पेसिफिकेसनको विशेष गरी बुँदा नम्बर ‘३.१’ मा भएको मापदण्ड ‘न्यूस्टर’सँग ठ्याक्कै मिल्छ।

अस्पतालको स्पेसिफिकेसनमा फोहोरलाई नजलाई घर्षण गरी उच्च तापक्रम (१४० डिग्री सेल्सियस–१५० डिग्री सेल्सियस) निकालेर फोहोर जलाउने किसिमको मेसिन हुनुपर्ने मापदण्ड तोकिएको छ।

प्राविधिक स्पेसिफिकेसनको यो बुँदा नम्बर ‘३.१’ मा ‘वेष्ट प्रोसेसिङ मेथोडः बाई नन्–बर्न हिट एट हाइ टेम्प्रेचर (१४० डिग्री सेल्सियस–१५० डिग्री सेल्सियस)। टेक्निक सुड बी फ्रिक्शनल हिट टेक्नोलोजी’ उल्लेख गरिएको छ।

यो खरिद प्रक्रियामा यो बुँदा नै सबैभन्दा महत्त्वपूर्ण देखियो। र यो नै लक्ड गरियो।

मेसिन उत्पादक कम्पनी ‘न्यूस्टर’को क्याटलगमा ठ्याक्कै अस्पतालको स्पेशिफिकेशनमा उल्लेख भएकै ‘फ्रिक्शनल हिट ट्रिटमेन्ट १५० डिग्री सेल्सियस’ सम्म भएको उल्लेख छ।

त्यसैगरी प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.५’ मा ‘लोडिङ भेसल क्यापसिटी (भोलुम) : १५० लिटर्स पर साइकल’ भन्ने मापदण्ड राखिएको छ। यो मापदण्ड पनि ‘न्यूस्टर’को विशेष गरी ‘एनडब्लु–१५’को क्याटलगसँग मिलेको छ। ‘न्यूस्टर’को ‘एनडब्लु–१५’को क्याटलगमा,‘स्टेरिलाइजेशन भेसल भोलुमः रफ्ली १७० लिटर्स’लेखिएको छ।

प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘४.२’ मा ‘वेष्ट भोलुम रिडक्शनः ८० पर्सेन्ट अर मोर’ भन्ने उल्लेख छ भने बुँदा नम्बर ‘४.३’ मा ‘वेष्ट वेट रिडक्शनः ३० प्रतिशत अर मोर’ उल्लेख छ।

बुँदा नम्बर ‘४.२’ को अर्थ मेसिनमा हालिएको फोहोर प्रशोधनपछि ८० प्रतिशत परिमाण (तौल) घटाउन सक्ने क्षमताको हुनुपर्ने भन्ने हुन्छ। त्यसैगरी बुँदा नम्बर ‘४.३’ को अर्थ मेसिनमा फोहोर हालेर प्रशोधन गरेपछि प्रशोधित भएर करिब ३० प्रतिशतमा फोहोरको परिमाण (तौल) झार्न सक्ने क्षमताको मेसिन हुनुपर्छ भन्ने हो।

उता ‘न्यूस्टर’बाट उत्पादित ‘एनडब्लु–१५’ मोडलको मेसिनको क्याटलगमा ‘फाइनल भोलुम अफ ट्रिटेड वेष्टः २०-२५ पर्सेन्ट अफ इनिशियल भोलुम’ उल्लेख छ।

यसको अर्थ मेसिनमा फोहोर हालेर प्रशोधन गरेपछि फोहोर प्रशोधित भएर घटेर २० देखि २५ प्रतिशत (वा त्यो भन्दा बढी) परिमाण (तौल) रहन सक्ने क्षमताको मेसिन हुनुपर्छ भन्ने नै हो।

यसरी हेर्दा भक्तपुर क्यान्सर अस्पतालले टेन्डर आह्वान गरेको ‘फोहोर व्यवस्थापन’ सम्बन्धी (सोलिड वेष्ट म्यानेजमेन्ट सिस्टम फर हस्पिटल)’ मेसिनको प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘४.२’ र ‘४.३’ को मापदण्ड मेसिन उत्पादक कम्पनी ‘न्यूस्टर’को ‘एनडब्लु–१५’ मोडलको मापदण्डसँग मिल्नेगरी बनाइएको देखियो।

भक्तपुर क्यान्सर अस्पतालको स्पेसिफिकेसन र मेसिन उत्पादक कम्पनी ‘न्यूस्टर’को क्याटलगबीचको समानता।किनभने प्रशोधनपछि मेसिनको फोहोर घटाउने क्षमता ८० प्रतिशत हुनुपर्छ  भन्नु र २०–२५ प्रतिशत (वा त्यो भन्दा बढी) फोहोर घटाएर निकाल्न सक्ने क्षमताको मेसिन हुनुपर्छ भन्नु एउटै नै हो। यसमा भाषा मिलाइयो तर मापदण्ड उही राखियो।

मेसिनको प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘४.२’ र ‘४.३’ मा भएको र मेसिन उत्पादक कम्पनी ‘न्यूस्टर’को ‘एनडब्लु–१५’ मोडलको क्याटलगको प्रावधान हेर्दा मेसिनमा हालेर प्रशोधन गरेपछिको प्रशोधित फोहोरको परिमाण (तौल) करिब ३० प्रतिशत हुनुपर्छ भन्ने नै हो। विभिन्न बुँदामध्ये यो बुँदाबाट पनि प्राविधिक स्पेसिफिकेसन लक्ड गरेको पुष्टि हुन्छ।

प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘४.७’, ‘४.१९’ लगायतका अधिकांश बुँदाहरू लक्ड गरिएको देखिन्छ। बुँदा नम्बर ‘४.१९’ मा ‘दी  सिस्टम सुड ह्याभ वाटर रि-सर्कुलेशन सिस्टम द्याट रिड्युसेस वाटर कन्जुम्शन अप टु ५० लिटर-डे...’उल्लेख गर्दै लक्ड गरिएको छ।

यो बुँदा पनि मेसिन उत्पादक कम्पनी ‘न्यूस्टर’को क्याटलगमा भएको बुँदासँग लक्ड देखिन्छ। ‘न्यूस्टर’को क्याटलगमा ‘वाटर कन्जुम्शनः...रफ्ली ५० लिटर-डे वीथ वाटर रिसाइक्लिङ सिस्टम’ उल्लेख छ। यसैबाट यो बुँदा लक्ड गरेको पुष्टि हुन्छ।

प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘७.२’ पनि लक्ड नै छ। बुँदा नम्बर ‘७.२’ मा ‘मस्ष्ट सबमिट युरोपियन सिइ सर्टिफिकेट’ उल्लेख गरिएको छ। यो बुँदामा ‘युरोपियन सिइ अर युएसएफडीए सर्टिफिकेट’ राखिएको भए एक हदसम्म लक्ड खुल्न सक्थ्यो।

तर, युएसएफडिएलाई सिधै निषेध गरेर चाहेकै सप्लायर्स कम्पनीलाई नै टेन्डर दिन यसरी लक्ड गरियो।

प्राविधिक स्पेसिफिकेसनमा लक्ड गरिएका यी मुख्य बुँदाहरू हुन्। यसका अन्य पक्षहरूले पनि स्वतन्त्र खरिद प्रतिस्पर्धालाई रोक्ने नियतले निर्माण गरेको देखिन्छ।

एउटै कम्पनी मात्र योग्य बनाउने बदनियत

सार्वजनिक खरिदको उद्देश्य सप्लायर्सहरुबीच स्वतन्त्र प्रतिस्पर्धा गराई, तोकिएको बजेटको सिलिङभित्र जसले कम मूल्यमा तोकिएको मापदण्ड अनुसारको मेसिन दिन राजी हुन्छ उसैलाई खरिदको जिम्मा दिनु हो।

तर पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भइरहेका खरिदको नियत निश्चित कम्पनी प्रेरित देखिन्छन्। यसमा भक्तपुर क्यान्सर अस्पताल पनि जोडियो।

उसले  करिब दुई करोड ४७ लाख ६० हजार रुपैयाँमा फोहोर व्यवस्थापन सम्बन्धी मेसिन खरिद गर्ने गरी टेन्डर अगाडि बढाउँदा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (आइसिबी)लाई पुरै निषेध गर्दै ‘राष्ट्रिय स्तरको बोलपत्र (एनसीबी) विधि अपनाएको छ।

अस्पताल र लक्ड कम्पनीको स्पेसिफिकेसन। बिचमा मेसिन।अस्पतालको खरिद प्रक्रियामा रहेको ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिन’को टेन्डरमा ‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेड्युर’ विधि अपनाइएको छ।

‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेड्युर’ भनेको ‘दुई खाम विधि’ हो। यस किसिमको खरिद विधिमा टेन्डर प्रस्ताव भइसकेपछि सुरुमा टेन्डर प्रस्ताव गरेका सप्लायर्स कम्पनीको प्राविधिक मूल्याङ्कन हुन्छ। प्राविधिक रूपमा जुन कम्पनी छनोट हुन्छ त्यसपछि मात्रै आर्थिक प्रस्ताव खुल्छ।

प्रविधि स्पेसिफिकेसनै निश्चित उत्पादक कम्पनीको उत्पादन मेसिनसँग मात्रै मिल्नेगरि बनाएपछि पहिलो चरणमा उसको मात्रै प्रस्ताव पास हुन्छ। अनि उसले प्रस्तावित बजेट सिलिङभित्र पर्नेगरि जति रकम प्रस्ताव गरे पनि उसैको प्रस्ताव पास हुन्छ। मूल्यमा प्रतिस्पर्धा नै हुन पाउँदैन।

मिलेमतो नभएको खरिदको प्रारम्भमा स्वतन्त्र रूपमा लागत अनुमान तयार हुन्छ। तोकिएको मूल्यभित्र सप्लायर्सहरुले प्रतिस्पर्धा गर्ने हुन्।

दुई वा दुई भन्दा बढी सप्लायर्सको मापदण्ड मिल्नेगरी स्वतन्त्र प्रतिस्पर्धा भएमा मूल्यमा समेत प्रतिस्पर्धा हुन सम्भव हुन्छ। अनि जसले तोकिएको मापदण्ड अनुसारको मेसिन कम मूल्यमा दिन राजी हुन्छ उसैले ठेक्का पाउँछ।

तर प्रारम्भमै मिलेमतोमा सुरु भएको खरिदको लागत नै उच्च बनाइन्छ। त्यसमा स्पेसिफिकेसन लक्ड गरेर एक मात्र कम्पनीको प्राविधिक प्रस्ताव पास हुनसक्ने वातावरण बनाइन्छ। यसले आर्थिक प्रस्तावमा प्रतिस्पर्धा नै हुन पाउँदैन। अनि मिलेमतोमा अगाडि बढेको खरिदमा लक्ड स्पेक अनुसार जुन कम्पनीले टेन्डर पाउने हो उसले उच्च नाफा राखेको हुन्छ। त्यो उच्च नाफा खरिदमा संलग्नहरूबिच बाँडफाँट हुन्छ।

भक्तपुर क्यान्सर अस्पतालमा पनि यही चलाखी गर्दै प्रारम्भबाटै मिलेमतो गरेर फोहोर व्यवस्थापन सम्बन्धी मेसिनको खरिद प्रक्रिया अगाडि बढेको देखिन्छ।

प्राविधिक स्पेसिफिकेसनका प्रावधान हेर्दा ‘न्यूस्टर’को नेपाली सप्लायर्सको ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिनको प्राविधिक मापदण्ड मात्र छनोट गर्ने गरी खरिद प्रक्रिया अगाडि बढेको देखिन्छ।

मिलेमतोमा हुने यस्तो खरिदमा बायो मेडिकल इन्जिनियर हुँदै अस्पताल प्रमुख, खरिद समिति, प्रशासन प्रमुख र लेखा प्रमुखलगायतको संलग्नता देखिने गरेको छ।

भक्तपुर क्यान्सर अस्पतालको ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिनको यो टेन्डरको प्राविधिक स्पेसिफिकेसन बायोमेडिक इन्जिनियर रमेश फोजुले बनाएका हुन्। भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालीसे छन्। 

५० लाखको टेन्डरमा पनि बदनियत

भक्तपुर क्यान्सर अस्पतालले २०८१ फागुन १३ मा करिब ५० लाख ८० हजारमा एक सेट खरिद गर्ने गरी ‘इन्डोकोपी सिस्टम’को टेन्डर आव्हान गरेको थियो।

यो टेन्डर प्रक्रियाका कागजातको अध्ययन गर्दा यसको स्पेसिफिकेसन पनि स्वतन्त्र देखिएन। टेन्डर सूचना सँगै राखिएको मापदण्डको अध्ययन गर्दा यो ‘पेन्टेक्स’नामक मेसिन उत्पादक कम्पनीसँग मिल्नेगरी बनाइएको देखियो।

प्राविधिक स्पेसिफिकेसन लक्ड रहेको भन्दै अन्य सप्लायर्सहरुले विरोध गरेपछि अस्पताल प्रशासनले दुई पटक प्राविधिक स्पेशिफिकेशन संशोधन गरेको देखिन्छ।

दुई पटक गरेको संशोधनमा पनि ‘इन्डोकोपी सिस्टम’ को खरिदमा गरिएको लक्ड खुलेन। यसमा दुई वटा सप्लायर्स कम्पनीले प्रस्ताव गरेका छन्। हाल यो प्राविधिक मूल्याङ्कनको चरणमा रहेको देखियो।

लक्ड स्पेसिफिकेसन अनुसार खरिद प्रक्रिया अगाडि बढेकाले प्रस्तावित प्राविधिक स्पेसिफिकेसनको तुलनात्मक विधिबाट मूल्याङ्कन नभए प्राविधिक स्पेसिफिकेसन लक्ड गरिएको ‘पेन्टेक्स’कै नेपाली सप्लायर्सको प्रस्ताव मात्र प्राविधिक स्पेशिफिकेशनमा पास हुने देखिन्छ।

अस्पतालले ‘इन्डोकोपी सिस्टम’को यो टेन्डरमा टेन्डर पाएको ४५  दिन भित्रमा सामग्री ल्याइदिनुपर्ने सर्त राखेको छ। नेपालमा नबन्ने उपकरण विदेशबाट सामान्यतया ४५ दिनमा ल्याउन सम्भव हुँदैन।

४५ दिनभित्रमा ल्याउनुपर्ने सर्तले यो मेसिन पहिल्यै ल्याएर नेपालमा जुन कम्पनीले राखेको छ उसले मात्र प्रतिस्पर्धा गर्न सक्छ। भक्तपुर क्यान्सर अस्पतालले टेन्डर आह्वान गरेको ‘इन्डोकोपी सिस्टम’को ठेक्का (आइएफबी) नम्बर ‘बीसीएच-गुड्स-एनसीबी-०८१-८२-८’ हो।

वैशाख १८, २०८२ बिहीबार २०:५६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।