शिक्षा विधेयक छोटो प्रक्रियाबाट पारित गर्न सकिन्छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

शिक्षा विधेयक छोटो प्रक्रियाबाट पारित गर्न सकिन्छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा विधेयक संसद्का दुवै सदनबाट छोटो प्रक्रिया अपनाएर पारित गर्न सकिने बताएकी छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारसँग भएको सहमतिअनुसार विधेयक छिटो पारित गर्न सकिने धारणा राखिन्।

‘एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार राति प्रतिनिधिसभाबाट आगामी असार १५ मा शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ,’ उपाध्यक्ष घिमिरेले भनिन्, ‘प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई दलहरूको सहमतिमा राष्ट्रियसभाले छोटो प्रक्रियाबाट पारित गर्न सकिन्छ ।’

उनले महत्वपूर्ण विधेयक समयमै पारित नहुनुले संघीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनमा नआएको उल्लेख गरिन्। ‘प्रतिनिधिसभाले शिक्षा र निजामति लगायतका विधेयक पारित गर्नका लागि शनिबार र बिदाका दिन बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने सहमति गरिसकेको छ, प्रतिनिधिसभाबाट पारित भएर आएका विधेयकहरू राष्ट्रियसभामा लामो समय अड्काउने काम गरेका छैनौँ,’ उनले भनिन्।

साथै, उनले नेपाली युवाहरूलाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राष्ट्र निर्माणमा योगदान दिन प्रेरित गरिन्। युवाको सक्रिय सहभागिताले मात्र देशमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्दै भनिन्, ‘युवा वर्गले सदैव कर्मशील सोचबाट अघि बढ्न सक्नुपर्छ।’ 

वैशाख १८, २०८२ बिहीबार २०:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।