विदेशमा रहेका नेपाली हाम्रा लागि ‘सफ्ट पावर’ : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरू मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक अन्तरक्रियामा डा. राणाले विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरूलाई नेपालसँग जोडिन आवश्यक रहेको बताइन्।
‘विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरू हाल विभिन्न मुलुकको राजनीतिमा पनि सक्रिय हुनुहुन्छ, उहाँहरू हाम्रा लागि ‘सफ्ट पावर’ हुनुहुन्छ, हामीले त्यसको उपयोग गर्नुपर्छ’, उनले भनिन्।
उनले अहिले गैर आवासीय नेपाली (एनआरएन) कार्डको विषय प्राथमिकतामा रहेको बताउँदै यसलाई छिटै कार्यान्वयन गर्नुपर्ने बताइन्। ‘तपाईंहरूले लामो समयदेखि एनआरएन कार्डको विषय उठाउँदै आउनुभएको छ, कार्ड जारी गर्न ढिलाइ भइसकेको छ, आजसम्म यहाँहरूले देखाउनुभएको धैर्यताको म कदर गर्छु’, उनले भनिन्। साथै, नेपालमा स्थायी सरकार गठन भइसकेकोले अब कार्ड जारी हुनेमा विश्वास व्यक्त गरिन्।
संविधान निर्माणको क्रममा एनआरएन कार्डबारे व्यापक छलफल भएको स्मरण गराउँदै उनले कांग्रेसले शुरू देखिनै यस विषयमा प्रतिबद्धता जनाएको बताइन्। साथै, विदेशमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषसम्बन्धी जानकारी नहुँदा समस्या भइरहेको उल्लेख गरिन्।
वैशाख १८, २०८२ बिहीबार १९:५६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।