सक्रिय राजनीतिमा आउने दाउ खोजिरहेकी पूर्व राष्ट्रपतिको दाबी 'बाँकी जीवन राष्ट्रको सेवामा'

सक्रिय राजनीतिमा आउने दाउ खोजिरहेकी पूर्व राष्ट्रपतिको दाबी 'बाँकी जीवन राष्ट्रको सेवामा'

काठमाडौं : राष्ट्र प्रमुखको सर्वोच्च पदमा दुई कार्यकाल बिताएर पनि पुन पार्टीगत राजनीतिमा सक्रिय हुने प्रयास गरिरहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले अब बाँकी जीवन राष्ट्रको सेवामा समर्पित रहने दाबी गरिन्।

राष्ट्रिय समाचार समितिको ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ लिँदै भण्डारीले सरकारको स्थिरताका लागि राष्ट्रिय सहमतिसहितको दिगो कार्यक्रम ल्याउन आवश्यक देखिएको बताइन्। 

‘दलीय व्यवस्थामा राजनीतिक दल धेरै हुनु स्वाभाविक हो, तर कुनै पनि दलको स्पष्ट बहुमत नआउने/नहुने, सरकार छिटो परिवर्तन भइरहने तथा सत्ता र शक्तिका लागि साना दलले ‘बार्गेनिङ’ गर्ने अवस्थामा सुधार गर्न राष्ट्रिय सहमतिसहितको दिगो कार्यक्रम ल्याउन आवश्यक देखिन्छ,’ उनले भनिन्। 

एमालेबाट सक्रिय राजनीतिमा आउन गतिविधि बढाएकी उनले सरकार सञ्चालनमा पार्टीहरू अत्यधिक दल केन्द्रित हुन थालेको भन्दै व्यक्तिको आकाङ्क्षा र महत्वकाङ्क्षाभन्दा राष्ट्रिय आकाङ्क्षामा ध्यान जानुपर्ने सुझाव दिइन। 

तर उनी राष्ट्रपतीहुँदा दुई पटक संसद विघटनको निर्णय गरेकी थिइन् र दुबै निर्णय सर्वोच्च अदालतबाट बदर भएको थियो। उनले बिहीबार निर्वाचन प्रणालीमा दोष नरहेको बताउँदै व्यक्ति विशेषको मनको कुरामात्र भएको र पाँच वर्षसम्म दलहरू मिलेर जान सुझाव दिइन्।

वैशाख १८, २०८२ बिहीबार १९:२४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।