‘गुरुजीबाट ओइ डाइभरसम्म’ : चालक विष्णु खड्काको ४० वर्षे सार्वजनिक यातायातको अनुभव

काठमाडौं : विष्णु बहादुर खड्काको ६० औँ जन्मदिन नजिकिदै छ। जर्मन मिनिबसबाट काम सुरु गरेका उनी अहिले सुन्दरीमाई यातायातको बस चलाउँछन्। यो कम्पनीका उनी सबै भन्दा पुरानो र पाका 'गुरुजी'।
चार दशकको यात्रामा शरीरका पुर्जाले बेलाबखत खुबै दुख दिन्छन् उनलाई। तर गाडीको स्टेरिङ छाड्न सकेका छैनन्। उनी अझै गाडीको स्टेरिङ घुमाउन चाहन्छन् । तर कानुनले अवकाश लिन बाध्य पार्दैछ उनलाई।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार चालकले ६० वर्ष पछि ठूला सवारी चलाउन पाउँदैनन्। दृष्टि ठिक भए अनि चालकले चाहेमा सानो सवारी चलाउने सुविधा दिएको छ कानुनले। तर उनलाई सानो गाडी चलाउन आउँदैन रे। ठूलैमा हात बस्यो उनको। अब सानै चलाउनुपर्ने भए सिक्नुपर्ला भन्छन् उनी। तर नियमले बाँधिएर ठूलो बसको स्टेरिङ भने छुट्ने नै भयो उनको।
‘आँखा देख्न सक्ने अनि चलाउन सक्ने भएसम्म गाडी चलाउन दिनुपर्ने हो। तर दिन्छन् कि दिँदैनन् थाहा छैन,’ उनले भने ‘लाइसेन्सको म्याद अझै तीन वर्ष बढी बाँकी त छ। अहिलेसम्म मैले ठुलो बाहेक अरू गाडी चलाएकै छैन। जानेकै यही हो। अब उमेर भयो भनेर ठुलो गाडी चलाउन नदिए सानो गाडी चलाउन सिक्छु। एक पटक सिकेपछि जानिन्छ होला।’
सह-चालक हुँदै चालकसम्मको यात्रा
ओखलढुङ्गामा जन्मिएका उनले सानैमा आमा गुमाए। उनको दाइ काठमाडौँमा सेनाको कार्यालयमा काम गर्थे। भिनाजु गाडी चालक। गाउँमा भैँसी चराएर बसेका उनलाई दाइले 'आर्मीमा भर्ती गर्ने'भनेर १३ वर्षको उमेरमा काठमाडौँ ल्याए। छ महिना उनले सेनाको तालिम पनि गरे। तर तालिममा टिक्न सकेनन्, साथीहरूसँग मिलेर भागे।
उनको साथी काठमाडौँको आरुवारिमा बस्थे। उनै साथीको लहलहैमा लागेर उनले सह-चालकको काम सुरु गरे। सह-चालक हुँदा हातमा पैसा भइराख्ने। उनी त्यसैमा रमाए। तीन वर्ष सह-चालक भएरै काम गरेपछि गाडी चलाउन सिके। अनि सह-चालकबाट चालकमा स्वयम् पदोन्नति भए।
उनी त्यही पदमा ४० वर्षदेखि काम गरिरहेका छन्। यो बिचमा तीन वटा गाडी किनेका रहेछन् उनले। तर सञ्चालन गर्न सकेनन्। तीन वटै गाडी सस्तैमा बेचिदिएको बताए उनले।
‘मैले पैसा खूब कमाएँ। त्यो बेला गाडी किन्नु पर्छ भनेर त्यतै लागियो। त्यो पैसा काठमाडौँको जग्गामा हालेको भए अहिले धनी हुने रैछु,’ उनले भने ‘अहिले यो उमेरमा पनि यसरी काम गर्न परिरहेको छ।’
उनी जुन बेला सार्वजनिक यातायातको चालक भएका थिए त्यो बेलामा कमै सर्वसाधारणले गाडी चढ्थे काठमाडौंमा। त्यो बेलामा मिनिबस थियो, त्यो पनि जर्मनी। त्यही मिनिबस उनले २० वर्ष चलाए। केही समय पोखरा र चीनको तिब्बत सीमा खासासम्म पनि गाडी चलाए। त्यो बेलामा बाहिर काठमाडौँमा जत्ति पनि बाटोको सुविधा नभएको अनुभव सुनाए उनले।
'त्यो बेलामा चालकको सिट देब्रेपट्टि हुन्थ्यो। चालककै साइडबाट गाडी चढ्न र ओर्लन मिल्थ्यो। पछाडिबाट डोरी तानेर गाडी रोक्ने हुन्थ्यो,’ उनले पुराना दिन सम्झिए ‘मान्छे त झुन्डिएरै चढ्थे गाडी। एक घण्टामा मात्र रुटको गाडी आउने भएकाले यात्रुको कमी हुँदैनथ्यो। तर गाडीको आवाज साह्रै नराम्रो। पेट्रोल पनि धेरै खान्थ्यो।’
गाडीको संरचना नै धेरै यात्रु अटाउने खालको थियो। बसको सिट काठको थियो। काँटी ठोकेर सिट बनाए पनि यात्रु आरामले बस्थे। अहिले सोफा जस्तै लचकदार सिट हुँदा पनि यात्रु सिटमा बस्न नमान्ने अनुभव सुनाए।
जर्मन मिनिबस महँगो हुँदै गयो। अनि त्यो मोडलको बसै हरायो काठमाडौँमा। त्यो बेलामा उनले बस किनिसकेका थिए। एउटा बस बेचिदिए। अर्को सालोलाई चलाउन दिए। तर चैत दशैंको दिन गाडी दुर्घटनामा पर्दा एक जनाको मृत्यु भयो । सालोको सट्टा उनी २४ दिन जेल बसे । त्यो बेलामा करिब पाँच लाख रुपैयाँ खर्च भएको सुनाए उनले।
‘म आफैले चलाएको गाडी अहिलेसम्म डरलाग्दो दुर्घटनामा परेको छैन। दुर्घटनामा परेको जोडिएको त्यही एउटा घटना मात्र हो,’ उनले भने।
गाडीको रफ्तारसँगै उनको जीवनको रफ्तार पनि अगाडि बढ्दै गयो। बिहे गरे। तीन जना सन्तान भए। यो बिचमा यातायातका कानुन बदलिए। बाटोका रूपहरू बदलियो। अनि यात्रुहरूको व्यवहार पनि बदलियो। त्यो बेलाका यात्रुहरू सहयोगी र सम्मान गर्ने स्वभावको भएको उनको अनुभव रहेछ। अहिलेका भने हेप्ने।
त्यो बेलाको रुट गौशालाबाट रत्नपार्कसम्म
उनले गाडी चलाउन सुरु गरेको समयमा काठमाडौंमा रत्नपार्कबाट रुट सुरु हुन्थ्यो अनि गौशाला पुगेर टुङ्गिन्थ्यो। त्यताभन्दा उता सडक थिएन। गौशालादेखि डिल्लीबजार, पुतलीसडक हुँदै रत्नपार्क अनि फेरि त्यही रुट दिनभर ओहोरदोहोर गर्थे यात्रु लिएर। पेट्रोल सकियो भने रानीपोखरी नजिकै रहेको साझा पेट्रोल पम्प मात्र विकल्प थियो। पछि बिस्तारै रुट गौशालाबाट चाबहिल, चुच्चेपाटी, बौद्ध र जोरपाटीसम्म पुग्यो।
त्यो बेलामा साढे दुई लाखमै गाडी आउने रहेछ। तै पनि कार्यालयमा काम गर्ने अनि सेनाले मात्र गाडी चढ्ने गरेको सुनाए उनले।
'यात्रु त टन्नै हुन्थ्यो। टोपी नै खस्ने गरेर हुलमुल हुन्थ्यो। ठाउँ छैन भन्दा पनि मिलेर बस्छौँ भनेर झुन्डिन्थे,’ उनले भने, ‘पैसा सब सिक्का मात्र हुने। म सहयोगी हुँदा तीन सुकादेखि पैसा उठाएको। साझा बसले पैसा राखेर छ्याकछ्याक बजाउँदै आउँथ्यो। हाम्रो त पैसा नै खसिरहेको हुन्थ्यो। मलाई सहयोगीको काम सिक्न र पैसा गन्न जान्न पनि एक हप्ता लाग्यो।'
प्रायजसो यात्रु पुरुष मात्र हुने गरेको तर पद्मकन्या स्कुल नजिकै आएपछि चट्ट रातो साडी लगाएका महिलाहरू बस चढ्थे अनि ओर्लन्थे। उनलाई यी को होलान् भन्ने लाग्ने रहेछ। पछि थाहा पाए यी कलेज पढ्न हिँडेको छात्राहरू रहेछन्।
नियम बन्नु भन्दा अगाडि...
ट्राफिक नभएको, खालि सडक, बाटो पनि सानो। वारिदेखि पारिसम्म बिरुवाको लहराले अल्झिने बाटो थियो। राती सडक निकै अँध्यारो हुने। अव्यवस्थित बाटो भए पनि सार्वजनिक यातायात अहिलेको जस्तो अस्तव्यस्त नभएको उनको अनुभव छ।
अहिले सार्वजनिक यातायातको अगाडीको विभिन्न ठाउँको नाम लेखिए जस्तै त्यो बेलामा रुट नम्बर लेखिएको हुन्थ्यो। बौद्ध-जोरपाटी जाने गाडी दुई नम्बर, नयाँ बानेश्वर भएर एयरपोर्ट-गौशाला जाने एक नम्बर, लगनखेलको १४ नम्बर, भक्तपुर थिमी जाने सात नम्बर अनि कीर्तिपुर दक्षिणकाली २१ नम्बर। यात्रु रुट नम्बरको आधारमा बस खोज्दै आउँथे।
सडकमा ट्राफिक नहुने, केही प्रहरी भने उभिएका हुन्थे। सडक घुस त्यो बेलामा पनि चल्ने रहेछ। केही गल्ती भइहाले दुई रुपैयाँमा काम मिल्थ्यो रे। बस कहाँ रोक्ने/ कहाँ नरोक्ने प्रस्ट नियम थिएन। जहाँ यात्रुले हात दियो त्यहीँ घ्याच्च ब्रेक हान्ने। त्यो शैली अहिले घटेको त छ तर हराएको भने छैन।
'वसुन्धरातिर काँचो इँटाको घर थियो। गाडी त्यहाँ पुग्दै गएपछि महिलाहरू झ्यालबाट टाउको निकालेर हेर्थे,’ उनले भन्दै गए,‘अनि गाडी देख्ने बित्तिकै पख्नु है भाइ म साडी लगाउँदै छु भनेर कुराउँथे। हामी पनि कुरेर बस्थ्यौँ। त्यो बेला अर्को गाडी कहिले आउने ठेगानै थिएन। अहिले त सम्भव छैन त्यसरी कुर्न।'
मापसे गरे पनि डर थिएन
सवारी तथा यातायात ऐन २०४९ को दफा १ सय ४२ मा मादक पदार्थ सेवन गरेर सवारी चलाउन निषेध गरिएको भए पनि २०६९ मङ्सिर २२ देखि मात्र यो कार्यान्वयनमा आयो। नत्र त्यो भन्दा अगाडि काठमाडौँमा प्राय चालकहरूले मादक पदार्थ पिएर सवारी चलाउने गरे पनि समस्या नहुने गरेको अनुभव सुनाए उनले।
२०६९ पछि भने ट्राफिकले कडा गर्न थाल्यो। मापसे गरेर सवारी चलाउँदा जरिवाना त भयो नै सवारी चालक अनुमति पत्रमा प्वाल पार्न थाले। पाँच पटक प्वाल परेपछि छ महिना सवारी चालक अनुमति पत्र निलम्बनमा पर्ने भएपछि चालकहरू डराउन थाले।
यातायातको लाइनमा लागेका सह-चालक अनि चालकहरू अलि बढी नै मापसे लगायतका कुलतमा फसेको उनको अनुभव रहेछ। दिनकै हातमा पैसा हुने भएर हो या अन्य कारण थाहा छैन उनलाई। तर अधिकांशले कुलतमा फसेको अनुभव सुनाए।
मजदुर संघ र यातायात समिति नै अस्तव्यस्त
यातायातमा अनेक सङ्गठनहरू छन्। उनी पनि यातायात मजदुर संघमा आबद्ध छन्। तर मजदुर संघ भए पनि आफै अस्तव्यस्त भएको उनको अनुभव छ। यातायात समितिले जस्तै संघको पनि चालक र सह-चालक सम्बन्धी व्यवस्थित नीति नभएको उनी बताउँछन्।
‘हाम्रो बीमा गरेको भन्छन्। तर बिरामी हुँदा काम छुट्दा पैसा आउँदैन,’ उनले भने, ‘बिमा गरेको भए पनि सस्तोखाले बिमा गरेको होला। साहुहरूका लागि एक जना नभए अरू आइहाल्छन्। त्यसैले गाडी चलाउँदा आफूलाई बचाएर काम गर्नु पर्छ।'
उनी अहिले जोडिएको समितिमै पनि दुई वटा समिति छन्। एउटा सुन्दरीमाई र अर्को उपत्यका सिटी। अरू समितिको गाडीसँग मात्र नभएर आफ्नै समिति भित्रका गाडीसँग समेत प्रतिस्पर्धा गर्नुपर्दा झन् बढी अप्ठ्यारो हुने उनले अनुभव सुनाए।
उनले सार्वजनिक यातायातको अर्को समस्या सुनाए। अहिले यो क्षेत्रका अनुभवी चालकहरू विदेशिएका कारण समेत समस्या देखिन थालेको उनले बताए। कुनै समय गाडी चालकलाई 'गुरुजी'भनेर सम्मान गर्ने गरे पनि अहिले हेर्ने नजरै बदलिएको बताए उनले। त्यही समस्याले नयाँ पुस्ता यो काममा आकर्षित नभएको उनको अनुभव छ।
उनकै छोराले पनि पहिला गाडी चालक बन्ने सोचेका थिए रे। तर उनैले सार्वजनिक यातायातको चालक बन्न दिएनन्। वैदेशिक रोजगारीमा गर्ने श्रम यतै चालक भएर गर्दा पनि राम्रै कमाइ हुने अनुभव गरेका उनको छोरा वैदेशिक रोजगारमा छन्।
‘पहिला गुरुजी भनेर सम्मान हुन्थ्यो। त्यस्तो हेपाइको अनुभव गर्नु परेन। तर अहिले गाडी चलाउनेलाई 'ओइ डाइभर' भनेर साह्रै हेप्छन्,’ उनले भने ‘आफूले सहेको हेपाई सम्झिएर पनि छोरालाई यही काम गर्न भन्न सकिएन।’
वैशाख १८, २०८२ बिहीबार १८:५८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।