सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ होइन सगरमाथाकै नामबाट ब्रान्डिङ गरौं : प्रधानमन्त्री ओली

सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ होइन सगरमाथाकै नामबाट ब्रान्डिङ गरौं : प्रधानमन्त्री ओली

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने बताए। उनले सगरमाथाकै नामबाट विश्वमा ब्रान्डिङ गर्नुपर्नेमा जोड दिए।

बिहीबार ‘कोशी लगानी सम्मेलन २०८२’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको पूर्वाधार, सडक सञ्जाल, प्रशस्त प्राकृतिक स्रोतसाधन र दक्ष जनशक्तिका कारण नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको बताए।

‘पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ। लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइने छैन। कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ,’ उनले थपे, ‘लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियाली स्तरको छ लेनको पूर्व–पश्चिम राजमार्ग बनाइसक्छौं। कच्चा पदार्थ पनि ल्याउन सक्छौं। त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरूलाई पहिल्याउन सक्छौं।’

प्रधानमन्त्री ओलीले कोशी प्रदेशको भौगोलिक र संरचनागत सुविधाको चर्चा गर्दै उत्पादनको बजारको सहज पहुँच, विमानस्थलको विस्तार र पर्यटन, कृषि तथा जडिबुटी क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए। 

प्रधानमन्त्री ओलीले नेपाललाई उद्यमशीलताको दिशामा लैजान सकिए रोजगारीको दशक सफल हुने विश्वास व्यक्त गरे। उनले भने, ‘म युवाहरूलाई भन्न चाहन्छु, जागिरको खोजीमा नभौँतारिनुहोस्, उद्यमशीलतामा लाग्नुस्। त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ।’

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यताअनुसार श्रमको सम्मान, रोजगारदाता र श्रमिकबीचको संवाद तथा ट्रेड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

वैशाख १८, २०८२ बिहीबार १७:१६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।